काठमाडौं- स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का आठ जिल्लामा आज मतदान हुँदै छ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । एक महानगरपालिकासहित एक सय ३६ स्थानीय तहका लागि ३७ हजारभन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् । उम्मेदवारबीच ६ हजार ६ सय २७ पदका लागि प्रतिस्पर्धा हुनेछ । कुल २६ लाख ६४ हजार नौ सय ५० मतदाताले ३ हजार ५ सय ७८ मतदान केन्द्रमा मतदान गर्दै छन्।
प्रदेश नम्बर २ मा वीरगञ्ज महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा निर्वाचन हुँदै छ । निर्वाचनको लागि सुरक्षा व्यवस्था निकै कडा पारिएको छ।
स्थानीय तहको निर्वाचनमा सम्पूर्ण मतदाताको मताधिकार सुनिश्चित गर्न निर्वाचन आयोगले मतदाता परिचयपत्रका अतिरिक्त वैकल्पिक व्यवस्था गरेको छ।
मतदाताले कुनै कारणवश तस्बिरसहितको मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा वैकल्पिक व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए।
आयोगका अनुसार, नागरिकताको प्रमाणपत्र वा २०७० सालमा आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्बिरसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।