इटहरी– इटहरीको मुख्य बजारदेखि ३ किलोमिटर दक्षिणमा पर्छ मुस्लिम टोल। बहुसंख्यक मुस्लिम समुदायको बसोबास भएकाले उक्त टोलको नाम नै मुस्लिम टोल रहेको स्थानीय बताउँछन्। इटहरी उपमहानगरपालिका १४ मा पर्ने उक्त टोलको खास पहिचान बस्ती आफै हो।
भर्खरै ग्राभेल गरेको धुलाम्मे सडक। त्यही सडकबीचमा केटोकेटी खेल्ने खैलमैदान। गाईबस्तु बाध्ने ठाउँ। सडकमै विश्रामस्थल।
टोलको बीचमा देखिन्छ एउटा किराना दोकान। दोकान सामुन्ने ‘खुस इदमुबारक’ लेखिएको घर नजिक भेटिए, ३ युवा। सबिर, जम्सेद र अरमान महम्मद। उनीहरु गफिँदै थिए। मलेसिया रोजगारी खुलेपछि अबको वैदेशिक यात्राबारे उनीहरु योजना बनाइरहेका रहेछन्।
कुराकानीको बीचमै दहेज (दाइजो) को विषय उप्कियो।
दहेजप्रति तीनै युवाको असहमति छ तर यो अनिवार्य जस्तै बनिसकेकाले तत्काल हट्नेमा उनीहरु विश्वस्त छैनन्।
त्यसमध्येका जम्सेद महम्मद अलि टाठोबाठो जस्तो देखिन्थे। कक्षा ११ पढ्दापढ्दै उनले पढाइ छाडेका रहेछन्। दुई वर्षअघि नै विवाह गरिसकेका उनले आफूले दहेज नमागेको बताए। तर पनि बाबुआमाले गर्दा दहेज लिएको उनको भनाइ छ। ‘मलाई दहेज लिनेदिने मन पर्दैन,’ उनी भन्छन्, ‘तर दहेज नलिई छोराको बिहे नै गर्दिदैनन्। फेरि उमेर पुगेर पनि छोरीको बिहे भएन भने झन् नराम्रो हुन्छ। के भन्ने अब। दहेज बाध्यता हो, दिनैपर्छ।’
जम्सेद बोल्दै गर्दा बीचमै सबिरले थपे, ‘पहिलाभन्दा अहिले झनै दहेज बढेको छ। पहिला २० हजार दिँदा हुने थियो भने अहिले २ लाख दिनुपर्ने भएको छ। बाइक नभए त बिहे गर्नै मान्दैनन्। केटाभन्दा पनि उसमा बाबुआमाले माग्छन् दहेज।’
दहेजविरुद्धमा युवाहरुको मत एक छ। गरिब परिवारको छोरीको बिहे नै गर्न नसकिने अवस्थाप्रति उनीले चिन्ता व्यक्त गरे। मुस्लिम टोलमा रहेको मस्जिदबाटै दहेज माग्यो भने कारबाही गर्ने निर्णय भएको उनीहरुले सुनाए। तर बिहेको टुंगो लागेपछि लुकीछिपी दहेजको बार्गेनिङ हुने गरेको उनीहरु बताउँछन्।
तीन युवाभन्दा केही पूर्वपट्टि गाउँका महिलाहरु सियाँलमा बसिरहेका छन्। रातो साडीले टाउको छोपेका महिलाहरु गफिँदैछन्। उनीहरु नेपाली खासै बुझ्दैनन्। बजारको नजिकै बसेका भए पनि नयाँ मान्छेसँग बोल्न अलिक हिचकिचाउँछन्।
त्यसमध्येकी फैजु मोहम्मद नेपाली बुझ्न र बोल्न जान्ने रहिछन्। पत्रकारको परिचय पाउनासाथ उनी डराइन्। प्रहरी र पत्रकार एउटै हो भन्दै निकै संयमित भइन्। उनीसँगै छेउमा बसेका महिलाहरु फोटो खिचेको देखेर खुब लजाए। साडीले मुख छोपेर घोप्टो पर्न थाले। सबै परिचय पाएपछि भने बिस्तारै खुल्न थाले।
गाउँमा समस्या बुझ्ने नेताहरु धेरै आएको तर पनि केही नभएको उनीहरुको गुनासो थियो। बत्ती नबले पनि सडक बत्तीको मासिक एक सय रुपैयाँ तिर्नुपरेको भन्दै रोष प्रकट गरे।
लहरै बसेका नशिरा खातुन, रोजत खातुन, जमिला खातुन र रबुना खातुन आफ्नो परिचय दिन पनि लजाउँछन्। रबुना खातुनको भर्खरै बिहे भएको रहेछ। उनी अहिले माइतीमै छिन्।
घर किन नबसेको भन्ने प्रश्नको उत्तर दिन सकिनन् उनले। केही बोल्न नपाउँदै उनका आँखा रसाए। अकमकाउँदै केही भन्न खोज्दै थिइन्। तर सँगै बसेका अरु महिलाले उनको प्रतिवाद गरिहाले। माइतको न्यास्रो लागेर आएकी भन्दै सोझो जवाफ दिए।
दहेजको कुरा निकाल्नेबित्तिकै उनले मुख छोपिन्। आँसु पुछ्दै घरभित्र छिरिन्।
रबुनाको बारेमा ६० वर्षीया मलाया खातुनले कुरा खोलिन्। घरमा समस्या भएकाले उनी माइतमा बसेकी रहिछन्। भनेजति दहेज नदिएर उनको घरमा समस्या भएको उनले बताइन्।
त्यतिकैमा उनले आफ्नो कहानी पनि सुनाइहालिन्। दुई छोरी र एक नातिनीको बिहे गरिसकेकी रहिछन् मलायाले। आफूले पनि दहेज दिएरै बिहे गरिदिएको उनको भनाइ छ। 'अबको जमानामा ज्वाइँ किन्नै गाह्रो छ,' उनी भन्छिन्।
तर छोराको बिहेमा दहेज नमागेको उनले बताइन्। पहिला थोरै दहेजमा हुने बिहे अहिले महँगो भएको उनको बुझाइ छ। मुस्लिम संस्कारमा दहेज लिनु नभने पनि लुकीछिपी त्यो जारी रहेको उनी बताउँछिन्।
‘छोरी जन्मियो भने मान्छेको घरमा दु:ख आए जस्तो हुन थालेको छ,’ उनी भन्छिन्, ‘तर के गर्नु, दु:ख-सुख बिहे गर्नैपर्यो। ज्वाइँलाई जति दिए पनि भयो भन्दैन। दहेज मागेर छोरालाई बिक्री गर्छन् मान्छेहरु।’
उनको बोली टुंगिन नपाउँदै छेवैमा उभिएका सलमान खान कराउँछन्, ‘हामीजतिको केटालाई बाइक भएन भने कसरी बिहे गर्नु? मैले पनि दहेज लिएरै बिहे गरेको हो। केटा मान्छेलाई हिँडिरहनुपर्छ, बाइक त चाहिहाल्यो नि!’
मस्जिदले दहेज लिनेदिने दुवैलाई जरिवाना लगाउने निर्णय गरेको छ। मस्जिदमै बसेर निर्णय लागू भने हुन सकेको छैन।
‘दहेज लिने कसैले भन्दैनन् तर नलिई बिहे गर्दैनन्। दहेज नदिए छोरी कसले लाने?’ सोही टोलका जमिम महम्मदले भने, ‘एक पटक कुरा छिनिसकेपछि बिहे नगर्दा समाजमा बदनाम हुने डरले छोरीको बाउआमा दहेज दिन बाध्य छन्।’
दहेज दिएन भने विभिन्न बहाना बनाएर बिहे नगर्ने गरेको उनी सुनाउँछन्। अहिलेको अवस्थामा छोरीको बिहे गर्न गाह्रो हुँदै गएको उनको भनाइ छ। मुस्लिम धर्ममा छोरीलाई पैसा र गहना दिनुपर्ने व्यवस्था भए पनि यो उल्टो संस्कार बढिरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।