काठमाडौं- सोमबार प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले अवरोधकै बीचमा सत्तापक्षका सांसदलाई बोल्न समय दिएपछि विवाद भएको छ।
संसद बैठक सुरु भएपछि अवरोधका लागि उठेका नेपाली कांग्रेसका सांसदलाई समय दिएलगत्तै सभामुख महराले सत्तापक्षका सांसदलाई काउन्टरमा बोल्ने समय उपलब्ध गराएपछि विवाद सुरु भएको हो। त्यसपछि नेपाली कांग्रेसले रोष्ट्रम घेरेर संसद अवरुद्ध पारेको हो।
बैठक सुरु हुनासाथ सभामुख महराले नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाललाई समय उपलब्ध गराएका थिए। भुसालले बाँके घटनामा किटानी जाहेरी दिइएका बाँके खजुरा नगरपालिका १ का वडाध्यक्ष सुमन मल्ललाई पक्राउ गर्न माग गरिन्। जाहेरी दरखास्त परेका व्यक्तिलाई सभामुखबाट निर्देशन माग गरिन्।
उनले आफ्नो कुरा नसक्दै नेकपा बाँकेका नन्दलाल रोकाय उठे। संसद सुरु नै नभएको उक्त अवधिमा उनले बोल्न पाउने थिएनन्। तर सभामुख महराले उनलाई काउन्टर जवाफ राख्न समय दिए। उनले सीतापुर घटनाको वास्तविकता अर्कै भएको मन्दै मल्ललाई कारबाही हुन नहुने बताए। नत्र आन्दोलमा उत्रिने भनेपछि कांग्रेस सांसदहरुले अवरोध सुरु गरे।
सभामुखको निर्देशनपछि संसद चलाउने सहमति धरापमा
संसद बैठकअघि बसेको कार्यव्यवस्था समितिमा दलहरुबीच सहमति भएको थियो।
कार्यव्यवस्थामा नेपाली कांग्रेसले सुरुमा आफ्नो कुरा राख्ने र सभामुखको निर्देशनपछि संसद सञ्चालन हुने सहमति भएको थियो। तर सभामुखले उक्त सहमतिविपरीत समय दिएपछि नेपाली कांग्रेस सांसद आक्रोशित हुँदै वेल घेराउ गर्न पुगे। सभामुखले टुंग्याउन भनिरहे पनि अवरोध रोकिएन।
सांसद रोकाय बोलेपछि नेपाली कांग्रेसले बोलेको कुरा सम्बोन गर्ने आश्वासन सभामुख महराले दिइरहे। सभामुख महराले काउन्टरमै समय उपलब्ध गराएका रोकायलाई पनि पटकपटक छोट्याउन भन्दै थिए। तर उनले त्यसलाई अस्विकार गरी बोलिरहे।
संसद बैठक नै सुरु नभई यसरी दोहोरी चलेपछि सभामुखले पछि महसुस गरे। उनले 'आज बबाल हुने भो' भन्दै बोलेको प्रस्ट रुपमा सुनिथ्यो। तर त्यसपछि महराले प्रतिपक्ष नेपाली कांग्रेसलाई मनाउन खोजे पनि उनीहरु मान्न तयार भएनन्। उनीहरु सिधै बेलमा आएर अवरोध गरे।
पछि सभामुखले असोज १ गते बस्नेगरी बैठक स्थगित गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।