काठमाडौं- जाडोको तुलनामा गर्मीमा परावैजनी किरण तीन गुणा बढी हुन्छ। यसैले गर्मी सुरु हुनेबित्तिकै सनग्लासको आवश्यकता महसुस हुन्छ। चर्को घाममा हुने अल्ट्राभायोलेट किरणले आँखामा असर पुर्याउँछ। विना सनग्लास घाममा निस्कँदा आँखा पोल्ने, आँशु आउने, रिङगटा लाग्नेजस्ता समस्या हुन्छ। त्यसैले गर्मीमा गगल्स फेसन मात्र होइन, आँखाको स्वास्थ्यको दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। किन चाहिन्छ सनग्लास, पढ्नुहोस्
रेटिनालाई बचाउँछ
सनग्लासले सूर्यबाट निस्कने घातक परावैजनी किरणबाट आँखाको रेटिनालाइ्र्र बचाउँछ। घामको किरणले आँखामा असर पर्नासाथ धुलोको कणले रेटिनामा क्षति पर्नबाट बचाँउछ। यसैले घामका बाहिर निस्कँदा सनग्लास लगाउन नभुलौं।
कर्नियालाई सुरक्षित राख्छ
चर्को घाममा त्यत्तिकै निस्कँदा परावैजनी किरणले आँखामा बन्ने टियर सेल अर्थात् आँसुको कोशिका टुट्न सक्छ र यो कर्नियाका लागि हानिकारक हुन सक्छ। अर्थात् परावैजनी किरणले रेटिनामा असर पुर्याएजस्तै कर्नियामा पनि असर पुर्याउँछ।
बेसल सेल कार्सिनोमा हुनबाट रोक्छ
घाममा सनग्लास नलगाउनाले बेसल सेल कार्सिनोमा नामक समस्या हुन सक्छ। यो छालाको क्यान्सरको सबैभन्दा आम समस्या हो। आँखा घामको किरणसंग सम्पर्क आउँदा यस्तो हुन सक्छ। बेसल सेल कार्सिनोमा आँखाको परेलाको छालाको क्यान्सर हो।
कन्जेक्टिभालाई सुरक्षित राख्छ
आँखाको तल्लो र माथिल्लो परेलाको बाहिरी पत्रलाई कन्जेक्टिभा भनिन्छ। यो आँखाको निकै संवेदनशिल भाग हो। जब यो सूर्यको किरणको सम्पर्कमा आउँछ, चिलाउन थाल्छ। यसलाई भाइरल, ब्याक्टेरियल वा एलर्जिक कन्जेक्टिभाइटिस पनि भनिन्छ। यसैले बाहिर निस्कदा सनग्लास लगाउन नभुल्नुहोला।
मोतियाविन्दुको जोखिमबाट बचाउँछ
मोतियाविन्दु आँखाको आम रोग हो। बढी उमेर भएका व्यक्तिलाई यो रोग लाग्छ। सूर्यको परावैजनी किरणका कारण पनि यस्तो हुन सक्छ। मोतियाविन्दु हुँदा आँखा धमिलो हुन्छ, जसबाट देख्न कठिनाई हुन्छ। यसैले सनग्लास लगाउनु आवश्यक हुन्छ।
सावधानी
सनग्लास किन्दा विशेषगरी दुई कुरामा ध्यान दिनुहोला। एउटा चश्माको साइज र अर्को गुणस्तर। अर्थात् चश्मा परावैजनी किरणबाट सुरक्षा दिने खालको हुनुपर्छ। अनि अर्को कुरा, चश्मामा स्क्र्याच वा धमिलोपना नआउन्जेलसम्ममात्र प्रयोग गर्नुहोला। सिसाको रंग पनि आँखालाई सुरक्षा दिने खालको मात्र छान्नुहोस्। घटिया लेन्सले आँखालाई असरमात्र गर्न सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।