पोखरा- स्याउको याम सकिन लाग्दा मनाङका किसानले स्याउ टिप्न थालेका छन्।
यस वर्ष जिल्लामा स्याउ उत्पादन १० प्रतिशतले बढ्ने देखिएको जिल्ला कृषि विकास कार्यालय मनाङले जनाएको छ । अनुकूल मौसम, स्याउ खेतीका लागि बगैंचा विस्तार, मलजल र सिँचाइको व्यवस्थाबाट स्याउ उत्पादनमा वृद्धि हुन गएको हो।
मनाङमा गत वर्ष ६ सय ६५ मेट्रिक टन स्याउ उत्पादन हुँदा किसानले झन्डै एक करोड ८० लाख रुपैयाँ कमाइ गरेका थिए । यस वर्ष जिल्लामा ८ सय २५ मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ।
जिल्लाको कुल २ सय ५ हेक्टर स्याउको उत्पादन क्षेत्र मानिए पनि किसानले ८७ हेक्टर जमिनमा स्याउ लगाएका छन्।
जिल्लाका चार गाउँपालिकामध्ये नेस्याङ, चामे र नास्योङ गाउँपालिकामा मात्रै स्याउ खेती गरिन्छ । उत्पादित अधिकांश स्याउ आन्तरिकरुपमा नै खपत हुन्छ । बचेको स्याउ जिल्लामा आउने पर्यटक, कर्मचारी र अन्य व्यक्तिले नै खरिद गर्ने गर्छन् भने केहीले लमजुङको बेंसीसहर र काठमाडौंमा लगेर बिक्री गर्दै आएका छन्।
जिल्लामा अहिले स्याउ प्रतिकिलो १०० देखि १५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । यसअघि किसानले जुम्ला र बैतडीबाट स्याउका विरुवा ल्याएर रोप्ने गरेकोमा पछिल्लो समय भने जिल्लामै बेर्ना उत्पादन गर्ने तयारी थालिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।