बेनी (म्याग्दी)- म्याग्दी जिल्लाको मालिका गाउँपालिका–७ बिम गाउँमा ७ वर्षको प्रयासपछि बल्ल बिजुली बलेको छ।
नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्र र स्थानीयवासीको लगानीमा गरिएको विद्युतीकरणको परीक्षण सफल भएपछि नियमित विद्युत् आपूर्ति गरिएको वडाध्यक्ष रेशम जुग्जाली (सुविन) ले जानकारी दिए। बिममा २०६७ सालमा विद्युतीकरणका लागि पोल गाड्ने लगायतका काम गरिएको थियो।
वडाध्यक्ष जुग्जालीका अनुसार साविकको बिम गाविसको ६ र ७ नं वडाका सबै घरधुरीमा र १, २, ३, ४ र ५ नं वडाका केही भागमा विद्युतीकरण गरिएको छ। विद्युतीकरण भएपछि स्थानीयवासी उत्साहित भएका छन्।
पहिलो चरणमा गरिएको विद्युतीकरणबाट १८५ घरधुरी लाभान्वित भएका छन्। विद्युतीकरणका लागि उपभोक्ताले प्रतिघर रु ७ हजारका दरले रु १२ लाख ९५ हजार संकलन गरेको वडाध्यक्ष जुग्जालीले बताए।
प्राधिकरणले मुख्य प्रसारण लाइनको पोल, तार र ट्रान्सफर्मर, जिल्ला समन्वय समितिले गत आवमा २८ वटा पोल, उपभोक्ताबाट संकलित रकमबाट शाखा लाइनको तार र पोल खरिद गर्ने, तार तान्ने तथा वायरिङको काम गरिएको उपभोक्ता समितिले जनाएको छ।
स्थानीयवासी तथा युके, हङ्कङ लगायतका देशमा रहेका बिमवासीको सक्रियतामा गाउँमा लघु जलविद्युत् परियोजनाबाट विद्युतको प्रयोग गरिएको थियो।
यसैबीच छिमेकी धौलागिरि गाउँपालिकाको ताकममा केन्द्रीय विद्युतीकरणको काम भइरहेको छ। धौलागिरि गाउँपालिकाको ताकम, मुना, मुदी, लुलाङ, गुर्जा, मराङ र मल्कवाङवासी अझै पनि लघु जलविद्युत्, सोलार र टुकीको उज्यालोमा बस्न बाध्य छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।