काठमाडौं– खुला सीमाना, अस्तित्वमा रहेका सशस्त्र समुहका गतीविधी र विपल्व माओवादी तथा सीके राउत सर्मथितका क्रियाकलाप प्रदेश २ मा असोज २ गते हुने स्थानीय तहको निर्वाचनका प्रमुख सुरक्षा चुनौती मानिएको छ। यसबाहेक दलहरु बीचमा हुनसक्ने सम्भावित भिडन्त र मतगणनामा हुनसक्ने हुलहुज्जतलाई पनि निर्वाचन सुरक्षाको अर्को चुनौतीका रुपमा केन्द्रीय निर्वाचन सुरक्षा समितिले बिश्लेषण गरेको छ।
प्रदेश २ मा रहेका एकसय ३६ स्थानीय तहका लागि करिब ३६ हजारको हाराहारीमा उम्मेदवारी परेको छ। कुल मतदाता २६ लाख ६४ हजार नौसय ५० ले तीनहजार पाँचसय ७८ मतदान केन्द्रमा मतदान गर्नेछन्।
वीरगञ्ज महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका लागि असोज २ मा हुने निर्वाचन सुरक्षाको विषय यतिबेला अहम् बनेको छ।
निर्वाचन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी गरि आठ जिल्लामा ७० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित भएका छन्। सेनाले निर्वाचनका लागि आठ जिल्लाका ३१ स्थानमा सुरक्षा बेस स्थापना गरेको छ। यस्तै सेनाको जनकपुर र बारामा रहेका बाहिनीलाई हवाई बेस बनाएर चारवटा हेलिकोप्टर चौबिसै घण्टा तयारी अवस्थामा राखिएको छ।
सैनिक प्रवक्ता सहायक रथी झंकरबहादुर कडायतले सरकारले दिएको जिम्मेबारी पूरा गर्न सेना फिल्डमा खटिएको बताए। उनले निर्वाचन सुरक्षाको बाहिरी घेरामा रहने सेनाले पैदल गस्ती र सवारीसाधनमा पेट्रोलिङ गरिरहेको छ। सेनाले संवेदनशीलताका आधारमा बख्तरबन्द गाडी र अत्याधुनिक हतियार समेत निर्वाचन सुरक्षाका लागि प्रयोगमा ल्याएको छ।
‘सुरक्षा बेस स्थापना भएको छ, हवाई बेस तयारी अवस्थामा रहनेछ, आवश्यकता अनुसार स्थानीय गण, गुल्म र बाहिनीबाट स्रोत साधन प्रयोग हुनेछ,’ कडायतले भने।
सुरक्षा विश्लेषण अनुसार प्रदेश २ का आठ जिल्लामा अनुपातमा ७० प्रतिशतको हाराहारीमा मतदान स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ। २० प्रतिशतलाई सवेदनशील र बाँकी १० प्रतिशतलाई सामान्य सूचीमा राख्दै जिल्ला सुरक्षा संयन्त्रले प्रबन्ध मिलाएको छ।
अघिल्ला निर्वाचन सरह यसपटक समेत पहिलो घेराको निर्वाचन व्यवस्थापन र भित्री सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीले सम्हाल्ने छ। मतदान केन्द्रमा मतपेटिकाको सुरक्षाका लागि हतियार सहित प्रहरी खटिने छन्। यस्तै मतदान स्थलको दोस्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना रहनेछ। मतदानपछि मतपेटिका सेनाले मतगणना स्थलसम्म पुर्याउने जिम्मेवारी पाएको छ। सेनाका अनुसार मतपेटिका ल्याउन केही स्थानमा आवश्यकता अनुसार हेलिकोप्टरको समेत प्रयोग हुनेछ।
प्रदेश २ मा रहेका आठ जिल्लामा सप्तरी, सर्लाही, बारा, जनकपुर र महोत्तरी सबैभन्दा बढि सवेदनशील मानिएका छन्। आन्तरिक भिडन्त र बाह्य घुसपैठ तथा आपराधीक समुहको प्रयोग हुनसक्ने सम्भावना सहित यी जिल्लाको सुरक्षा मजबुत पारिएको छ। यस्तै सिरहा, रौतहट र पर्सामा समेत निर्वाचन अवधिमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीको सामना गर्न तीनै सुरक्षा निकाय सजग रहेका छन्।
‘सशस्त्र समुह, विप्लब, सिके राउत बाहेक पार्टीबिच हुने आन्तरिक भिडन्त र अन्तरपार्टी भिडन्त समेत सुरक्षा चुनौती मानेका छौं। आवश्यक सुरक्षा प्रवन्ध रहे पनि पार्टीगत भिडन्त रोक्न कठिन छ,’ सिरहाका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले भने।
जिल्ला सुरक्षा समितिका संयोजक प्रजिअ श्रेष्ठले निर्वाचन सुरक्षाका लागि तीनै सुरक्षा निकायका गरि नौ हजार सुरक्षाकर्मी फिल्डमा खटिएको बताए। ‘फिल्डमा सुरक्षाकर्मीहरु मतदाताभन्दा बढी देखिएका छन्,’ उनले भने।
‘एउटा दलको उपस्थितिकै विषयमा विवाद होला भन्ने थियो, त्यो भएन। अब प्रतिस्पर्धाको समयमा दलहरु बीचमै हुने घटना समेत चुनौती हुनसक्छन,’ प्रजिअ श्रेष्ठले भने।
सिरहामा मतदान स्थलको ८५ प्रतिशत स्थल सुरक्षाका दृष्टिकोणले अति संवेदनशील र संवेदनशीलको श्रेणीमा राख्दै सुरक्षा प्रबन्ध मिलाएको छ। समितिको विश्लेषण अनुसार जिल्लामा रहेका २२१ मतदान स्थलमध्ये एकसय नौ अति संवेदनशील, ८४ संवेदनशील र २८ मतदान स्थललाई समान्यको श्रेणीमा राखिएको छ।
प्रदेश २ मा रहेका आठ जिल्लामध्ये सबैभन्दा संवेदनशील मानिएको सप्तरी जिल्लाको मलेठ घटना दलीय द्वन्द्वको एउटा उदाहरण बनेको छ । यसैका कारण जिल्लामा कायम गरिएका दुई सय ९५ मतदान स्थलमध्ये दुईसय सात स्थल सुरक्षाका दृष्टिकोणले अति संवेदनशील रहेको निश्कर्ष सहितको सुरक्षा योजना बनाएको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जानकारी दिए। उनका अनुसार ८८ मतदान स्थललाई संवेदनशीलको श्रेणीमा राखेर सुरक्षा प्रबन्ध मिलाइएको छ। दुई सय ९५ मतदान स्थलमा चारसय ६५ मतदान केन्द्र रहेका छन्।
पछिल्लो मलेठ घटनापछि चर्चामा रहेको सप्तरीमा भारतीय सीमावर्ती क्षेत्रबाट हुनसक्ने घुसपैठ, जिल्लालाई आधार क्षेत्र बनाएर सक्रिय रहेका भुमिगत सशस्त्र समुह र निर्वाचनको प्रतिस्पर्धामा रहेका दलहरु बिच हुनसक्ने सम्भावित भिडन्तलाई सुरक्षा निकायले मुख्य चुनौती ठहर गरेका हुन ।
प्रजिअ पाण्डेका अनुसार केही समय अघिमात्र अस्तित्वमा देखिएको प्रगतिशील तराई मुक्ती मोर्चा (सिजन) नामक भूमिगत समूह, सीके राउत र प्रतिस्पर्धामा रहेका दलहरु बीच हुनसक्ने आपसी भिडन्त रोक्न सुरक्षा फौज चौबिसै घण्टा तैनाथ रहनेछ। ‘सीमावर्ती क्षेत्रबाट हुनसक्ने सम्भावित खतराको आकंलन अनुसार भारतीय पक्षसँग छलफल भइसकेको छ, सीमाका सबै नाका र खुला सीमामा समेत हाम्रो विशेष निगरानी भै रहेको छ,’ प्रजिअ पाण्डेले भने।
सप्तरीमा निर्वाचन सुरक्षाका लागि सातहजार सुरक्षाकर्मी परिचालन हुनेछन। नेपाल प्रहरीबाट चार हजार, सशस्त्रका दुईहजार र एकहजार नेपाली सेनाबाट खटिने छन्। मतदान स्थल, मतदान केन्द्र र संवेदनशील स्थानको बाहिरी घेरामा रहेर अत्याधुनिक हतियार सहित नेपाली सेनाले सुरक्षा दिनेछ। यस्तै गस्ती र मतपेटिकाको ओसारपसारमा समेत सेनाले सहयोग गर्नेछ।
राजनीतिक दलका लागि प्रतिष्ठाको जिल्ला बनेको धनुषामा जनकपुर उपमहानगर सहित ११ नगरपालिका र ६ गाउँपालिका छन्। धनुषाका सबै मतदान स्थल संवेदनशील र अति संवेदनशीलको श्रेणीमा छन्। धनुषामा सुरक्षाका दृष्टिकोणले सामान्य भन्ने कुनै मतदान स्थल र केन्द्र नै छैन।
जिल्लामा कायम गरिएका जम्मा तीन सय २७ मतदानस्थलमा रहेका पाँचसय ३२ मतदान केन्द्र नै अति संवेदनशील र संवेदनशीलको श्रेणीमा राख्दै सोही अनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ। प्रहरीका अनुसार जम्मा तीन सय २७ मतदान स्थलमध्ये दुईसय २२ अति संवेदनशील र एकसय पाँच संवेदनशीलको श्रेणीमा राखिएका हुन्। सुरक्षा फौजले अति संवेदनशीलको श्रेणीमा रहेका मतदान स्थलमा सुरक्षा प्रबन्ध तथा सुरक्षा समाग्री समेत सोही अनुसार रहने धनुषा प्रहरीका निमित्त प्रमुख डिएसपी प्रविण धितालले बताए।
चुनाव प्रचार प्रसारमा उम्मेदवार
पर्सा, सर्लाही र बारामा सबैको ध्यान
पर्सामा रहेको औद्योगिक नगरी वीरगञ्ज महानगरपालिका, बाराको जीतपुर सिमरा नगरपालिका र राजपाका अध्यक्ष मण्डलका तीन अध्यक्षको गृह जिल्ला रहेका कारण प्रदेश दुईका यी तीन जिल्लामा मुख्य सबै दलको ध्यान केन्द्रित मात्र छैन, निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सबै हत्कण्डाको भरपुर प्रयोग भइरहेको छ।
राजपाका तीन अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादवको गृह जिल्ला रहेका कारण सर्लाहीको निर्वाचन परिणामका लागि दलहरुले बलबुताले भ्याएसम्म शक्ति खर्चिरहेका छन्।
यस्तै प्रादेशिक शक्ति सन्तुलनको केन्द्र मानिएको जितपुर सिमरा नगरपालिका र नेपालको लाईफ लाइन मानिएको वीरगञ्ज महानगरपालिकाको चुनावी भिडन्त मत्रपत्रमा बाहेक सडक, मतदान स्थल र मतगणना स्थलमा हुनसक्ने अनुमान सुरक्षा निकायले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।