काठमाडौं- उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि रसियाली राजदूत एलेक्सी ए नोभिकोभबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षीय हितका साथै उर्जा र जलस्रोत क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको हो।
भेटमा उर्जामन्त्री पुनले नेपाल र रसियाबीचको सम्बन्ध ऐतिहासिक रहेको भन्दै आगामी दिनमा पनि सम्बन्ध प्रगाढ बन्ने विश्वास व्यक्त गरे। उनले रसियाले विगतमा पनि पनौती हाइड्रो, पूर्वपश्चिम राजमार्ग र पूर्वाधार निर्माणमा सहयोग गरेको नेपाली जनताले सम्झिरहेको भन्दै आगामी दिनमा सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे।
मन्त्री पुनले जलविद्युतको क्षेत्रमा लगानीको राम्रो वातावरण रहेको भन्दै रसियाली लगानीकर्तालाई सन्देश प्रवाह गरिदिन राजदूतसँग आग्रह गरे।
‘जलविद्युत क्षेत्र सरकारको समेत उच्च प्राथमिकतामा छ, १ सय मेगावाटभन्दा माथिको परियोजनाको पिपिए पनि सरकारले गर्छ। यो सन्देश रसियाली लगानीकर्तालाई प्रवाह गरिदिनुपर्यो,’ मन्त्री पुनले भेटमा भने।
जवाफमा राजदूत नोभिकोभले उर्जा क्षेत्रमा सहकार्य गर्न रसिया इच्छुक रहेको भन्दै लगानीका लागि वातावरण बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।