काठमाडौं- थोरै पुँजीबाट सुरु भएका घरेलु तथा साना उद्योगका उत्पादन पनि बजार प्रतिष्पर्धामा स्थापित हुन थालेका छन्।
साना, मझौला तथा घरेलु उद्योगीहरुले गुणस्तरीय र उपभोक्ताको रुची तथा समय अनुसारको डिजाइनमा तयारी कपडा उत्पादन गर्न थालेपछि नेपाली सुती तथा ढाकाको उत्पादनले ह्वात्तै बजार लिएको हो। केही वर्षअघि नेपाली सुती र ढाकाको कपडाबाट बनेका तयारी पोसाक बेच्नका लागि उत्पादनकर्तालाई हम्मे-हम्मे पर्थ्यो। अहिले भने त्यस्तो अवस्था नरहेको स्वयम् व्यवसायीहरु नै बताउँछन्।
सुती र ढाकाको कपडा एकपटक प्रयोग गरेका उपभोक्ताहरु उत्पादनकर्तालाई खोज्दै आउन थालेका छन्। यसबाट नेपाली उत्पादन बजारमा स्थापित हुनुको साथै उद्योगीलाई पनि प्रोत्साहन र हौसला मिल्नेगरेको उनीह्यरुको भनाइ छ।
४ वर्षदेखि काठमाडौंमा ढाकाको कपडा उत्पादन र बिक्री गर्दै आएकी न्यू पाथिभरा कलेक्सनकी आशा पोभू नेपाली उपभोक्तामा पनि ढाका र्निमित कपडा प्रयोगको अनुपात बढेकोमा दंग छिन्। तेह्रथुमकी आशालाई अहिले आफ्नो उत्पादनको बजारीकरणको कुनै समस्या छैन। १ हजार देखि ३५ हजार रुपैयाँ सम्मका ढाकाका उत्पादन आफूसँग भएको बताउने आशा गुणस्तरीय वस्तु उत्पादन गरे उपभोक्ता खोज्नु नपर्ने बताउँछिन्।
अनुग्रह ह्यान्डीक्राफ्ट कि कृष्णकुमारी पौडेल पनि ढाकासम्बन्धी आफ्नो उद्योगबाट सन्तुष्ट छिन्। पहिला स्वदेशी उत्पादन त्यसमा पनि ढाकाको कपडा प्रयोगबारे उपभोक्ताको चासो नभए पनि पछिल्लो समय भने उपभोक्ताबाट अत्याधिक माग भइरहेको पौडेलको दाबी छ।
सुतीको कपडाप्रति पनि उपभोक्ताको चाहाना उत्तिकै बढेको छ। साना तथा मझौला व्यवसायी महासंघको आयोजनामा बिहीबार देखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको ‘नेपाल एसएमबी व्यापार मेला’मा सुतीका कपडाका स्टलमा उपभोक्ताको भिड देखिन्थ्यो। जोरबा बुद्ध इन्टरप्राइजेजकाअशोक कुमार सिंहले जाडो, गर्मी दुवै मौसममा लगाउन मिल्ने गरी तयार पारिएकाले सुतीको तयारी कपडा प्रयोगमा उपभोक्ताको चासो बढ्दै गएको बताउँछन्।
त्यसैगरी सुतीको तयारी कपडा उद्योगी रणविर मालाकार नेपाली सुती कपडाको प्रयोग बढेसँगै व्यवसायमा दीगोपना आएको धारणा राख्छन्।
घरेलु स्वादका अचार तथा ड्राइफुडको प्रयोग पनि अत्याधिक बढेको छ। ३ वर्षदेखि घरमै बसेर घरेलु स्वादका अचार र ड्राइफुड बनाउन थालेकी शुभम् उद्योगकी सञ्चालक इन्दु शर्माले बनाएको अचार स्वदेशमा मात्रै होइन विदेशमा पनि निर्यात हुने गरेको छ। उनले बजारीकरणको समस्या नभए पनि प्रदर्शनीले नयाँ उपभोक्ता थप्न सहयोग पुर्याउने भएकाले आफ्नो उत्पादन बेच्न आफैं उपस्थित भएको बताइन्।
थोरै लगानीमा सुरु भएका अचार बनाउने, पोते बनाउने, गहुँको छ्वाली, पराल आदीबाट बनाइने सामाग्रीको साथै ढाका र सुतीका मझौला उद्योगका उत्पादनको प्रयोग बढेसँगै यस्ता उद्योगको भविश्य सुनिश्चित हुनुको साथै मुलुकको आर्थिक समृद्धिमा पनि उल्लेख्य टेवा पुग्ने निश्चत छ। त्यसैले स्वरोजगारी र साना उद्योगको प्रवर्द्धनलाई सरकारले अझै प्राथमिकतामा राख्न सके भविष्यमा स्वदेशी उत्पादनको निर्यात बढ्ने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।