माले- माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिनले आफ्ना नागरिकलाई शान्त र संयमित रहन आग्रह गरेका छन्। आइतबार उनले राष्ट्रिय प्रशारणबाट देशवासीका नाममा सम्बोधन गर्दै सो आग्रह गरेका हुन्।
उनले देशमा राजनीतिक संकट बढिरहेकोले यस्तो बेलामा सबै देशवासी संयमित भएर रहनुपर्नेमा जोड दिएका छन्।
माल्दिभ्समा केही दिनयतादेखि आन्दोलन चर्किएको छ। दक्षिण एसियाली राष्ट्र माल्दिभ्समा केही वर्षयतादेखि राजनीतिक अस्थिरता बढिरहेको पाइन्छ।
उनले सुरक्षा अंग तथा आन्दोलनरत विपक्षी कार्यकर्ताहरुलाई शान्त रहन आग्रह गरेका माल्दिभ्सको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ।
माल्दिभ्सको सर्वाेच्च अदालतले बिहीबारको एक फैसलामा सबै राजनीतिक बन्दीहरुलाई रिहा गर्न आदेश दिएको थियो। उक्त फैसलाबाट माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नसिद र पूर्व उपराष्ट्रपति अहमद अदिबलाई पनि रिहा गर्नुपर्ने हुन्छ। तर वर्तमान सरकार उनीहरुलाई रिहा गर्ने पक्षमा छैन।
सोही कारण पूर्वराष्ट्रपति नसिदका कार्यकर्ताहरुले उनको रिहाइको माग गर्दै राजधानी मालेमा बिहीबारदेखि नै व्यापक मात्रामा प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनका क्रममा धेरै स्थानमा प्रहरीसँगको भिडन्तका कारण दर्जनौँ व्यक्ति घाइते भएका छन्।
नसिद सन् २००८ मा भएकोे निर्वाचनमा माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित भएका थिए। तर उनलाई सन् २०१२ को फेब्रुअरी महिनामा ‘कू’ गरेर हटाइएको थियो। उनलाई तत्कालीन सरकारले भ्रष्टाचारको आरोपमा पक्राउ गरेको थियो। पछि अदालतले १३ वर्षको जेल सजाय सुनाएको थियो।
राजनीतिक आस्थाका आधारमा नसिदलाई जेल हालिएको उनको राजनीतिक दलका कार्यकर्ताले बताउँदै आएका छन्।
मालदिभ्स्का राष्ट्रपति यामिनले आगामी सेप्टेम्बर महिनामा राष्ट्रपतिको निर्वाचन आह्वान गरेका छन्। सो निर्वाचनमा निर्वासनमा रहेका पूर्वराष्ट्रपति नसिदले राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्।
राष्ट्रपति यामिनले उक्त निर्वाचनका लागि वातावरण बनाउन आफूले सर्वाेच्च अदालतसँग परामर्श गरिरहेको र निश्पक्ष र स्वतन्त्र निर्वाचनका लागि लागिपरेको भन्दै सबैलाई शान्त रहन आग्रह गरेका हुन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।