इनरुवा- सुनसरीमा केही दिनअगाडि आएको बाढीका कारण यहाँको केराखेतीमा ठूलो क्षति भएको छ।
बाढीका कारण जिल्लाको अधिकांश स्थानका केराखेती बगाएको र बचेका पनि सुक्न थालेका छन्। केरामा क्षति भएपछि स्थानीय किसान निराश बनेका छन्। बाढीका कारण सदरमुकाम इनरुवा, भोक्राहा, जल्पापुर, बबिया, देवागञ्ज, हरिनगर, गढी र बर्जूलगायतका क्षेत्रमा केराखेतीमा क्षति भएको किसानले बताएका छन्।
बाढीबाट केरामा क्षति भएपछि लगानीसमेत डुब्ने भएकाले जिल्लाका सयौँ किसान चिन्तित छन्। सुनसरीमा झन्डै ७ सय हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएकोमा एक सय हेक्टरको केराखेती बाढीले कटान गरी लगेको र बाँकी रहेका पनि सुक्न थालेको स्थानीय किसान गणेश यादवले बताए। उनका अनुसार ‘बाढी कम भएसँगै धेरै स्थानमा केरा सुकेको छ’।
यहाँ पानी जम्ने क्षेत्रमा सबैभन्दा बढी क्षति भएको जिल्ला कृषि विकास कार्यालय सुनसरीले जनाएको छ। जिल्लाका किसानले एक दशकयता थालेको केराखेती एकपछि अर्को समस्याका कारण घट्दो क्रममा रहेको केरा कृषक सञ्जीव मेहताले गुनासो पोखे।
केरामा कुनै बेला बजारको अभाव, कहिले मौसमले साथ नदिएका कारण समस्या रहेको गुनासो गर्दै उनले यसपालि किसानको करोडौँको क्षति भएको बताए। प्रति हेक्टर ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म लगानी गरेर दुई लाखदेखि चार लाख रुपैयाँसम्म आम्दानी गर्दै आएकोमा यसपटकको बाढीले सबैलाई घाटा भएको उनको भनाइ छ।
अर्का किसान देवराम यादवका अनुसार जिल्लामा केरा किसानलाई मात्रै १० करोड बढीको नोक्सानी भएको छ। जिल्लामा ब्लियम हाइब्रिड, रोबोष्टा, सिंगापुरी, हरिछाल लगायतका उन्नत जातका केरा हुँदै आएको र उत्पादकत्व ७ हजार ६ सय मेट्रिक टन हुँदै आएको कृषि कार्यालयले जनाएको छ।
जिल्ला कृषि विकास कार्यालय सुनसरीका प्रमुख राजकान्त झाले भने क्षति भएको केराखेतीको विषयमा तथ्यांक संकलन गरेर कृषि विभाग र मन्त्रालय पठाएको र क्षतिपूर्तिका लागि पहल गर्ने बताए। उनले मन्त्रालयबाट क्षतिपूर्ति आएपछि आफूहरुले तुरुन्त कृषकलाई उपलब्ध गराउने समेत बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।