इदलिव(एजेन्सी)- सिरियामा विद्रोहीको नियन्त्रणमा रहेको पूर्वीय प्रान्त इदलिवमा एक रुसी सेनाको विमानलाई विद्रोहीले भुइँमा झारिदिएका छन्। रुसी रक्षा मन्त्रालयका अनुसार ‘सुखोइ २५’ विमानमा आक्रमण हुने बित्तिकै चालक विमानबाट हाम फालेपनि उनी जिवित रहन सकेनन्।
सामाजिक संजालमा विमान आक्रमण गरिएको भिडियो अपलोड गरिएको छ। जसमध्ये पहिलो भिडियोमा सेनाको विमानमा निशाना लागाइएको देख्न सकिन्छ । देस्रो भिडियोमा भने जलिरहेको विमानको ज्वाला देखाइएको छ। विमानको एक पंखामा रेड स्टार लागेको पनि भिडियोमा देख्न सकिन्छ।
हालसम्म कुन समूहले रुसी सेनाको विमानलाई खसाएको हो भन्ने बारेमा जानकारी प्राप्त हुन नसकेको सिरियाली प्रहरीले जनाएको छ।
रुसले सो इलाकामा विद्रोहीविरुद्धको आक्रमणका लागि सिरियालाई सघाउँदै आएको छ। गत डिसेम्बरदेखि सिरियाले रुसी सैनिक विमानको मदतमा विद्रोहीविरुद्धको आक्रमणलाई बढाएको छ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले बितेको २४ घण्टामा रुसले ठूलो मात्रामा हवाई हमला गरेको बताएको छ।
सो क्षेत्रबाट युद्धकै कारण हालसम्म १ लाखभन्दा धेरै सिरियाली नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।