कैलाली- साउन महिनाबाट स्मार्ट लाइसेन्स वितरण कार्य सुरु गरेको सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले हालसम्म झन्डै तीन हजार जनालाई स्मार्ट लाइसेन्स वितरण गरेको छ।
सेती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख कृष्ण भुसालले चालू आर्थिक वर्ष २०७४/०७५ माघ १८ गतेसम्म स्मार्ट लाइसेन्सका लागि ६ हजार १०३ जना आवेदकले आवेदन दिएको र सोही मितिसम्म २ हजार ९२४ थान लाइसेन्स वितरण गरेको बताए।
उनले पुरानो लाइसेन्स नवीकरण गर्नेलाई स्मार्ट लाइसेन्स वितरण गरिँदै आए पनि नयाँ लाइसेन्सको पनि यही माघ महिनाभित्रै स्मार्ट लाइसेन्स वितरण गर्नका लागि प्रक्रिया अघि बढिसकेको बताए।
यसैगरी सेती अञ्चल यातायात व्यवस्था कार्यालयले अटोरिक्साको पनि लाइसेन्स वितरण थालिसकेको र विद्युतीय रिक्साको भने निकट भविष्यमै सो प्रक्रिया पनि सुरु गर्ने तयारी रहेको यातायात व्यवस्था कार्यालय जनाएको छ।
कार्यालय धनगढीले चालू आवको ६ महिनामा रु १८ करोड, ६९ लाख ९१ हजार ६९ राजश्व संकलन गरेको जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।