मुटुरोग, मस्तिष्कघात र मिर्गौला फेल गराउने मुख्य कारण नै उच्च रक्तचाप हो । धेरैमा रक्तचाप जाँचिरहने बानी हुँदैन । किनकि रक्तचाप बढ्दै गइरहँदा यसको खास लक्षण हुँदैन ।
उच्च रक्तचाप भएको दुई–तीन वर्षमा समस्या देखिन थाल्छ । रक्तचाप बढ्दै जाँदा शरीरले पनि एक चरणसम्म ‘एडप्ट’ गरिदिन्छ । यसैगरी उच्च रक्तचाप देखियो भने प्रायःले अलि–अलि अभ्यास थाल्छन् । खानपान मिलाउँछन् । रक्तचाप ठीक ठाउँमा आउँछ । त्यसपछि ठीक भयो भनेर ढुक्क हुन्छन् । फेरि पुरानै जीवनशैलीमा फर्किन्छन् र उच्च रक्तचापको शिकार हुन्छन्।
उच्च रक्तचाप भएर डाक्टरकहाँ पुग्नेहरु सकेसम्म औषधि खान इन्कार गर्छन् । एक्सरसाइज गर्ने, डाइटिङ मिलाउने आदि दाबी गर्छन् । बिरामी उच्च रक्तचापले समस्या आइसकेपछि डाक्टरकहाँ आउने हुनाले सकेसम्म औषधि, एक्सरसाइज र डायटिङ सँगैसँगै लैजाउन् भन्ने चाहना डाक्टरको हुन्छ । डाक्टरले ‘कन्भिन्स्ड’ गरेपछि मात्रै औषधि खान तयार हुन्छन् । औषधि लेख्दा डाक्टरले निश्चित समयसम्मका लागि लेख्छन् र औषधि सकिनु केही दिनअघि फेरि जँचाउनु भन्छन् । बिरामीले डाक्टरले भनेको मितिसम्म औषधि खान्छन् तर जँचाउन भने आउँदैनन्।
जब पुनः रक्तचापले हान्छ, रिँगटा लाग्छ वा टाउको दुख्छ अनि मात्र डाक्टरको ढोका ढकढक्याउन आइपुग्छन् । त्यो समय बिरामीले औषधि छाडेको केही महिना बितिसकेको हुन्छ । बिरामीको दाबी हुन्छ, ‘तपाईंले भनेको समयसम्मै औषधि खाएको थिएँ ।’
जबकि डाक्टरले तीन महिना मात्रै औषधि खानु भनेको हुँदैन । तीन महिना औषधि खाएर फेरि जँचाउन आउनु, त्यो बेलाको अवस्था अनुसार औषधि घटबढ गर्छु भनेको हुन्छ ।
कतिले त त्यही समयमा मुटुको समस्या, मस्तिष्कघात र मिर्गाैलाको समस्या झेलिसक्छन् । ज्यान तलमाथि पनि भइसकेको हुन सक्छ । यिनै समस्यामाथि गरिएको अनुसन्धानले ५० देखि ६० प्रतिशतको औषधि खाँदा पनि रक्तचाप नियन्त्रणमा नआउने गरेको देखाएको छ।
यसैगरी, औषधि खाने तर मदिरा र चुरोट नछाड्ने, आफ्नो तौल घटाउन नसक्ने र तनाव नियन्त्रण गर्न नसक्नेलाई पनि औषधिले अपेक्षित फाइदा नपु¥याएको हुन सक्छ ।
व्यक्ति र उसको अवस्था हेरेर औषधि दिने र डोज मिलाइयो भने मात्रै रक्तचाप नियन्त्रणमा आउन सक्छ।
कति हुनुपर्छ रक्तचाप?
धेरैले रक्तचाप १४०/९० हुँदा पनि ठिकै छ भन्ने ठान्छन् । १५०÷९० पुग्दा पनि घटाउनेतिर ध्यान दिँदैनन् । किनभने बिरामीलाई यसका कारण गाह्रो भएको हुँदैन । तर, अध्ययनले रक्तचाप माथि १२० भन्दामुनि र तल ८० भन्दामुनि हुनुपर्ने देखाएको छ। १२०/९० सीमा रेखा हो । यो कट्यो भने रक्तचापका कारण आउने समस्य ढिलोचाँडो भोग्नुपर्छ भन्ने बुझ्नुपर्छ ।
सीमारेखा कटेपछि बिस्तारै मुटुको नलीमा ‘ब्लकेज’ सुरु हुन्छ । कुनै ठाउँमा साँघुरो र कुनै ठाउँमा फुकेको हुन्छ । मिर्गौलामा प्रोटिन निस्किन थाल्छ र बिस्तारै मिर्गाैला फेल हुन सक्छ । यसैगरी, मस्तिष्कको नलीमा असर गरिरहेको हुन्छ। त्यस्तै, ५ देखि १० वर्षपछि मस्तिष्घात हुने सम्भावना उच्च हुन्छ।
पहिले रक्तचाप १४०/९० पुग्यो भने मात्रै औषधि खान भनिन्थ्यो । तर, अहिले अमेरिकन कार्डियोलोजीको गाइडलाइन परिवर्तन भयो । १३०/८० मै औषधि खानुपर्ने उल्लेख गरियो । सन् २००२ मा भएका केही अनुसन्धानले यस्तो आधार दिएपछि केही डाक्टरले त्यो समयदेखि नै यसलाई अपनाइरहेका छौं । उच्च रक्तचापको नम्बर जति थपिन्छ, मुटुरोगको सम्भावना त्यसको दुई गुणाले बढ्छ ।
हाम्रो देशमा १४०/९० हुँदा पनि वास्ता नगरेको पाइन्छ । जसले गर्दा समस्या बढिरहेको हो ।
नेपालमा औसत ३० देखि ३५ वर्षकै उमेरमा रक्तचापको समस्या देखिन थालिसकेको छ । स्वस्थ खाने, तनाव कम लिने र एक्सरसाइज गर्ने चलन सरदर २० वर्षको उमेर अर्थात् इन्टरमिडिएट अध्ययन सक्दासम्म मात्रै रहन्छ । त्यसपछि हामी दौडधुपमा लाग्छौं । उच्च शिक्षासँगै जागिर खोज्नमा भौंतारिन्छौं, आर्थिक अवस्था सुधार गर्न तिर लाग्छौं । यसबाट धपेडी र तनाव सुरु हुन्छ । यही १० वर्षभित्र अर्थात् ३० वर्षकै उमेरमा उच्च रक्तचाप हुन्छ । अन्य समस्या आउँछ । तर, आम बुझाइ के छ भने, ४० वर्षसम्म मुटुरोग लाग्दैन । यो गलत बुझाइ हो ।
सहरी क्षेत्रमा बस्ने नेपाली युवामा उच्च रक्तचापको समस्या हुने सम्भावना उच्च नै छ । सहरिया युवा ढिलोचाँडो यसको शिकार हुने उसको खानपान र जीवनशैलीले देखाउँछ । कामको सेड्युल ब्यस्त, एक्सरसाइज गर्न पाइरहेका छैनौं, विषादियुक्त खाना खान्नँ भनेर पनि साध्य लाग्ने अवस्था छैन । सास फेर्ने वायुमण्डलमा प्रदूषण छ र तनाव चाहेर पनि घटाउन सकिने स्थिति छैन । यी तमात कारणले युवा अवस्थामै उच्च रक्तचापको सिकार बन्नुपर्ने वाध्यता झेल्नुपरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।