काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी राष्ट्रियसभा सांसद् अनिता देवकोटाले सत्तासीन पार्टीका कार्यकर्ताले राप्ती प्रतिष्ठानका रजिस्ट्रारमाथि आक्रमण गरेको आरोप लगाएकी छन्।
राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसद् देवकोटाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार रामप्रसाद प्याकुरेलमाथि बुधबार कार्यस्थलमै गएर हातपात गर्ने सत्तारूढ पार्टी नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता भएको दाबी गरेकी हुन्।
'सत्तासीन पार्टीकै कार्यकर्ताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार रामप्रसाद प्याकुरेलमाथि बुधबार कार्यस्थलमा नै गएर हातपात गरेका छन्। घटनाप्रति घोर विरोध र भत्र्सना गर्दछु,' सांसद् देवकोटाले खेद प्रकट गरिन्।
सांसद अनिता देवकोटाले कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी दिएर पनि प्रधानमन्त्रीले सिंगापुरबाटै भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक गरेर सरकारले शक्ति र पदको दुरुपयोग गरेको समेत टिप्पणी गरेकी थिइन्।
यसअघि शून्य समयमा बोल्दै सांसद उदया शर्मा पौडेलले मुलुकभर डेंगु रोगका बिरामी १५ सय ३७ जना पुगेको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएकी थिइन्।
विशेष समयमा नै सांसद वृषेश चन्द्र लाल भूमिसुधारमन्त्रीले भूमि व्यवस्थापन सम्बन्धमा संविधानमा गरिएको व्यवस्थाभन्दा भिन्न अभिव्यक्ति दिएको भन्दै स्पष्ट पार्न विभागीयमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
संविधानले भूमिको व्यवस्थापन गर्ने अधिकार प्रदेश व्यवस्थापिकालाई दिएको तर भूमिसुधार मन्त्रीले संघीय सरकारलाई दिएको भन्दै सांसद लालले त्यसबारे सदनलाई स्पष्ट पार्न माग गरेका हुन्।
सांसद शेर बहादुर कुँवर अछाम जिल्लामा चट्याङबाट ४ जनाको मृत्यु भएको र अन्य केही स्थानीय घाईते भएको पशु चौपायको पनि क्षति भएको र स्थानीयहरु आतंकित बनेको भन्दै आतंकबाट जोगाउनका लागि सम्बन्धित क्षेत्रबाट पहल गर्न आग्रह गरेका थिए।
राधेश्याम अधिकारीले भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद् बैठक गर्दा गोपनियताको सम्बन्धमा कानुनको ठुलो त्रुटी भएको भन्दै यस्तो गल्ती नदोहोर्याउन सरकारको ध्यानाकर्षण गराए। पछिल्लो समय दलितहरुलाई दुर्रव्यवहार गरिएका घटनाहरु आइरहेको भन्दै कानुन कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण समेत उनले गराएका थिए।
सांसद रामनारायण विडारीले सिप नभएका विरोधीहरु सरकारले राम्रा काम गर्दा पनि बिग्रेर जाने हो कि भन्ने चिन्ता लाग्न थालेको बताए। उल्टो राजनीति गर्ने, व्यवस्थाकै प्रतिपक्षी बन्ने, सत्तामात्रैको विपक्षी, समग्र संविधानका विरोधी र आंशिक संविधानका विरोधीहरुले वर्तमान सरकार मार्फत गणतन्त्र र संघीयताको विरुद्धमा प्रहार गर्दे आएको टिप्पणी गरे।
भिडियो कन्फ्रेन्समार्फत मन्त्रीपरिषद् बैठक गर्दा नवीनतम प्रविधिप्रति गर्व गर्नुपर्नेमा सडकदेखि सदनसम्म विरोध गर्ने कम भएको भन्दै उनले गोपनीयताको भुतको छायाबाट किन तर्सेको भनी प्रश्न गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।