काठमाडौं- घरको आर्थिक स्थिति कमजोर भएपछि ३५ वर्षीय कृष्ण साह भारतबाट काठमाडौं आए- फलफूल व्यापार गर्नकै लागि।
सुरुसुरुमा त काठमाडौंमै रहेका पुराना साथीहरुसँग नेपाल आउँदा कहाँ बस्ने के खाने भन्ने चिन्ताले उनलाई खुब पिरोल्यो। आफ्नो देश छोडेर आएका कृष्णले केही दिन निकै सास्ती बेहोर्नुपर्यो। नेपाली भाषा पनि नआउने भएकाले गाह्रो भएको उनी सुनाउँछन्।
एक-दुई वर्षपछि भने साथीसँगै फलफूल बेच्न हिँड्दाहिँड्दै उनले धेरै सिके। अहिले कुनै समस्या छैन। काठमाडौंको धुलोधुवाँ छिचोल्दै व्यापार गरेकै १५ वर्ष भयो।
सुरुवाती चरणमा साइकलमा तरकारी हालेर घरघर लगेर बेच्न थाले कृष्णले। त्यसपछि फलफूल व्यापारीसँग भेट भयो। उनीहरुको व्यापारबाट लोभिएका उनले केही दिनमै तरकारी छोडे। फलफूलमा लागे।
अहिले फलफूल बेचेरै महिनामा ४०-५० हजार कमाउँछन् उनी।
बिहान ६ बजे उनी फलफूल मण्डी कुलेश्वर पुग्छन् साइकल लिएर। सिजन अनुसार उनी साइकलमै फलफूल राखेर बेच्दै हिँड्छन्। कालिमाटी, कुलेश्वर, टेकु, त्रिपुरेश्वर उनको व्यापार 'इलाका' हो।
'कराउँदै हिँड्नुपर्छ तर सबैले किन्दैनन्,' उनले गुनासो पोखे, 'धेरैबेर कराएर डुल्दा पनि बल्लबल्ल एक जना किन्न आउँछन्, त्यही बहुत बार्गेनिङ गर्ने। उनका लागि साइकल घुम्ती पसल जस्तो बनेको छ। जहाँ व्यापार हुन्छ, उतै गुडाएर लैजाने।
उनी मासिक ४ हजार रकम घरबेटीलाई बुझाएर साथीसँग डेरा बस्दा रहेछन्। बिहानको खाना भने होटलमा खाने गर्छन्। बेलुकाको खाना भने नियमित हुँदैन। 'कहिलेकाहीँ थकानले पुगेको हुन्छु,' उनले भने, 'खाना बनाउन गाह्रो लाग्छ। त्यो बेला दालमोठ चिउरा खाएर नै सुत्ने गरेको छु।'
बिहानै कोठाबाट निस्किएका उनी फलफूल बेचिसिध्याएर झमक्क साँझ पर्दा मात्रै कोठा पुग्ने गर्छन्। परिवारमा श्रीमती, तीन छोरा र एक छोरी छन्। फलफूल बेचेरै घर परिवार मजाले चलाइरहेका छन् उनी।
दुई-तीन महिना व्यापार गरेर या चाडपर्वमा मात्रै उनी घर जाने गरेका रहेछन्। 'घरको त याद आइरहन्छ,' कृष्ण भन्छन्, 'व्यापार पनि गर्नैपर्यो। गएको बेला १५-२० दिन बसेर फर्कने गरेको छु।'
हाम्रा देशका लाखौं युवा रोजगारका लागि विदेशमा जोखिम मोलिरहेका छन्। तर कृष्ण जस्ता युवा अर्कै देशबाट नेपाल आएर मजाले पैसा कमाइरहेका छन्।
लोभलाग्दो आम्दानी गरे पनि समस्या नभएको कहाँ हो र! अर्कै देशको भएकाले अपमान गर्न खोज्ने र निकै बार्गेनिङ गर्ने गरेको पीडा पनि उनले सुनाए। 'दिनभरि घामपानी नभनी घरघरमा फलफूल पुर्यााउँदा पनि सित्तैमा लान पाए हुन्थ्यो झैं गर्छन्,' उनले बाध्यता सुनाए, 'घाम लाग्दा घामले पोलेर खपिसक्नु हुन्न। अरु बेला धुलो उडेर बिरामी परिन्छ भने। काठमाडौंको सडकमा पानी पर्दा बाटो हिलोले हिँड्नै गाह्रो छ।'
कहिलेकाहीँ त मौसम बिग्रियो भने फलफूल नबिकेर घाटा लाग्ने र बिग्रने डर हुने उनी सुनाउँछन्। 'यस्तो बेला कम मूल्यमा पनि घाटा खाएर बेच्नुपर्छ,' उनले दुखेसो पोखे।
हेर्दा सामान्य लाग्ने साइकल व्यापारीले महिनामा ५० हजारसम्म कमाउँछन् भन्दा धेरैले नपत्याउन् सक्छन् तर कृष्ण साह यसका उदाहरण हुन्।
लगन र मेहनत भए नेपालमा काम गर्न गाह्रो छैन। हुनुपर्यो त दृढता र आत्मविश्वास। लाज नमानी कामको सम्मान गर्ने हो भने कृष्ण जसरी नै अरु नेपाली युवाले पनि नेपालमै पैसा कमाउने प्रशस्तै विकल्पहरु छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।