इटहरी– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) इटहरीमा भाँडभैलो सुरु भएको छ। नेकपा इटहरीको पार्टी नेतृत्व अलोकतान्त्रिक ढंगबाट अगाडि बढेको भन्दै युवा नेताहरुले इटहरी कार्यालयमा तालाबन्दी गरेका छन्।
पूर्व एमाले क्षेत्रीय कमिटी सदस्य सुजन लामाको नेतृत्वमा युवा संघ सुनसरीका पूर्व जिल्ला सदस्य राजेश राई लगायतका युवाहरुले तालबन्दी गरेका हुन्।
इटहरीको नगर कमिटी अपारदर्शी र मापदण्डविपरीत अगाडि बढेको भन्दै तालाबन्दी गरिएको सूचनामा उल्लेख छ। इमानदार र प्रतिबद्ध कार्यकर्तालाई उपेक्षा गरेर गरिएको समायोजनको निर्णय सच्याउन र मापदण्ड पुगेका कार्यकर्तालाई नगर कमिटीमा राख्न माग गरिएको छ। त्यस्तै मनलाग्दी ढंगले गरिएको समायोजन प्रक्रियामा नेताहरुले कार्यकर्तासामु आत्मालोचना गर्न पनि उनीहरुले माग गरेका छन्।
दुई ठूला पार्टी एक हुँदा शक्तिशाली बन्नुपर्नेमा झन् कमजोर बनाउने काम भएकोले आन्तरिक संघर्ष गर्नुपरेको तालाबन्दीको नेतृत्व गरेका लामा बताउँछन्। पार्टीमा योगदान पुर्याएकालाई भन्दा नेताको आशीर्वाद पाएकालाई पदमा पुर्याइएकाले विरोध गरेको उनको भनाइ छ।
'मुख्य कारक नगर सचिव दंगाल'
नेकपा इटहरी नगर कमिटी गठन भएको दुई महिना पूरा हुन नपाउँदै भाँडभैलो सुरु भएको हो। लामो समयदेखि पार्टीमा योगदान पुर्याएका नेता कार्यकर्तालाई उपेक्षा गरिएको भन्दै पार्टीभित्र असन्तुष्टि चुलिएको छ। त्यसको मुख्य कारकको रुपमा नवगठित नगरसचिव काशिनाथ दंगाललाई आरोप लगाइएको छ।
नेकपाका एक नेताका अनुसार अब केही दिनमै समानान्तर कमिटी गठन हुन लागेको छ। हालको इटहरी नगर कमिटीसँग असन्तुष्ट पक्षले समानान्तर कमिटी गठनको तयारी थालेको हो। तालाबन्दीलाई त्यसैको सुरुवातको रुपमा लिइएको ती नेताले बताए।
हालका नगर कमिटी सचिव दंगालको अस्वभाविक पदोन्नतिप्रति असन्तुष्ट समूहले छुट्टै कमिटी गठनको तयारी थालेको हो।
दुई वर्षको अन्तरालमा दंगालको वडा कमिटी मनोनीत सदस्यदेखि नगर सचिवसम्मको यात्रालाई लिएर स्थानीय नेताहरु रुष्ट देखिन्छन्। २०७४ सालमा तत्कालीन नेकपा एमालेको वडा नम्बर ५ को वडा सदस्य रहेका उनी एक वर्षको अन्तरालमा नगर कमिटीको सचिवालय सदस्यमा मनोनीत भएका हुन्।
प्रदेश १ इन्चार्ज भीम आचार्यसँगको पारिवारिक साइनोकै कारण उनको पदोन्नति चाँडो भएको असतुष्ट समूहको बुझाइ छ। वडा कमिटीमा उनका अध्यक्ष रहेका वीरेन्द्र गौतम अहिले पदविहीन छन्। दंगाल भने जनता माध्यमिक विद्यालयको सञ्चालक समिति अध्यक्षसमेत रहेका छन्।
अहिले उनी भीम आचार्यको गुट स्थापित गराउन लागि परेको नेकपाका नेताहरु बताउँछन्। हाल नेकपा इटहरीका अध्यक्ष र सचिवको कार्यशैलीलाई लिएर पूर्व एमाले र पूर्व माओवादी सम्बद्ध युवाहरुको छुट्टै टिम बन्दै गएको छ। जसको नेतृत्व पूर्व माओवादीका युवा नेता मदन चुँडालले गरिरहेका छन्। हालको नेतृत्वले अब पनि यो माहोललाई मत्थर पार्ने कोसिस नगरे असामान्य अवस्था आउन सक्ने असन्तुष्ट समूहका एक नेताले बताए।
विवादको जरो
गत साउन १४ गते जनता बहुमुखी क्याम्पस इटहरीको सञ्चालक समितिको निर्वाचनको मिति तोकिएको थियो। सर्वसम्मत समिति गठन गर्ने सर्वदलीय निर्णय भयो। नेकपा, नेपाली कांग्रेस, राप्रपा र समाजवादी पार्टी नेपालबीच भद्र सहमति पनि भयो। जसमा नेकपाको तर्फबाट उनै दंगालले वार्ता समितिको नेतृत्व गरेका थिए। नेकपाले अध्यक्ष चाहेमा दिन सकिनेमा अन्य दलहरु राजी थिए।
तर उनै दंगालले अध्यक्ष कांग्रेसलाई लिन आग्रह गर्दै आफूहरु उपाध्यक्षमा चित्त बुझाउने गरी सहमति जनाए। त्यसपछि सर्वदलीय प्यानल तयार भयो। नेपाली कांग्रेसले अध्यक्ष पाउने गरी भएको सहमतिप्रति नेकपाको अर्को खेमाले असन्तुष्टि जनायो। जसको नेतृत्व नेकपाका नेता रेवतीरमण भण्डारीले गरेका थिए। पूर्व संविधानसभा सदस्य समेत रहेका भण्डारी पार्टीले जिम्मेवारी दिए आफू अध्यक्ष हुने दाउमा थिए।
उनकै भनाइका आधारमा केही समयअघि नेकपाको तर्फबाट जनता क्याम्पसको अध्यक्ष आफू बन्ने सहमति भएको थियो। तर आफू अध्यक्ष बन्ने भएपछि अर्काथरी नेताहरु रोक्न लागिपरेको उनी बताउँछन्।
दंगाल नेतृत्वको वार्ता समितिले साउन ८ गते नै कांग्रेसलाई अध्यक्ष दिने सहमति गरिसकेको थियो। त्यसको विरुद्धमा भण्डारीले छुट्टै उम्मेदवारी घोषणा गर्ने बताए। त्यसपछि पुन: नेकपाको आन्तरिक बैठक बस्यो। जसले भण्डारीलाई अध्यक्ष मानेर जाने सहमति बन्यो। भण्डारीलाई अध्यक्ष बनाउनैपर्ने लबिङमा प्रदेश १ का सांसदसमेत रहेका अर्का नेता लिलम बस्नेत लागिपरे। उनले आफै निजी कार्यकक्षमा छलफल राखेर कुनै पनि हातलमा भण्डारीलाई अध्यक्ष बनाउन दबाब सिर्जना गरे।
त्यसले नेकपाभित्रको समीकरण नै परिवर्तन गरिदियो। उनै बस्नेतले नेपाली कांग्रेसलाई पनि भण्डारीलाई अध्यक्ष स्विकार्ने वातावरण बनाए। त्यसपछि कांग्रेसको तर्फबाट अध्यक्ष बन्न लागेका विश्वप्रसाद रिजालले उम्मेदवारी फिर्ता लिएसँगै कांग्रेसले पनि भण्डारीलाइ स्विकार गरेको घोषणा गर्यो।
पार्टीको आधीकारीक टोलीले गरेको निर्णयको विरुद्धमा लागेको भन्दै दंगालले भण्डारीलाई कारबाही गर्ने चेतावनी दिए। त्यसपछि झनै ध्रुवीकरण बढ्यो। पार्टी बैठकमै उनले दिएको धम्कीका कारण भण्डारी पक्षका नेता कार्यकर्ता रुष्ट देखिन थाले।
दंगाल नेकपा प्रदेश १ कमिटीका इन्चार्ज भीम आचार्य निकट हुन् भने भण्डारी र आचार्य एक-अर्काका विरोधी। दंगालले उनै आचार्यको निर्देशनमा भण्डारीलाई रोक्न लागिपरेको युवा नेताहरुको बुझाइ छ। स्थानीय नेता र कार्यकर्ताको समर्थन पाएका भण्डारी अन्तत: सञ्चालक समितिमा निर्वाचित भए। सर्वदलीय सहमतिका आधारमा उनी अध्यक्ष भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।