काठमाडौँ- मुलुकको पहिलो निजी क्षेत्रको जलविद्युत् कम्पनी अरुणभ्याली हाइड्रो पावर लिमिटेडले शेयर धनीलाई १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
कम्पनीको साधारणसभाले आर्थिक वर्ष २०७३/७४ मा प्राप्त गरेको मुनाफाबाट लाभांश प्रदान गर्न लागेको कम्पनीका कार्यकारी अध्यक्ष रमेशप्रसाद न्यौपानेले जानकारी दिए।
यस्तै साधारणसभाले कम्पनीका नयाँ सञ्चालकमा जीवनराज शाक्य, रमेशप्रसाद न्यौपाने, पूजा दाहाल न्यौपाने, विवेक तातेड र मिलन खड्कालाई सर्वसम्मतरुपमा चयन गरेको छ।
बीस वर्ष लामो जलविद्युत विकासमा लागेको कम्पनीले पाँचथर याङवरक गाउँपालिकामा निर्माण भइरहेको काबेली बी–१ जलविद्युत् आयोजनाको टेलरेसको पानी उपयोग गरी १० मेगावाट क्षमताको अर्धजलाशययुक्त आयोजना निर्माण सुरु गर्न लागेको छ।
यस्तै सोलुखुम्बुको बुदुम खोलाबाट ११.८ मेगावाट क्षमताको अर्को आयोजना निर्माणका लागि अध्ययन सुरु भइरहेको छ।
यस्तै काबेली बी एक नामक २५ मेगावाट क्षमताको अर्को आयोजना आगामी चैतभित्र सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने तयारी छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।