रोल्पा- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को रोल्पा जिल्लाका स्थानीय तहको नेतृत्वमा पुष्पकमल दाहाल प्रचण्डको समूह कमजोर देखिएको छ। जिल्लाको १० स्थानीय तहमध्ये एकता प्रक्रियापछि पूर्व एमालेले ४ र पूर्व माओवादीले ६ स्थानीय तहको नेतृत्व पाएका थिए। पूर्व माओवादीले पाएको ६ स्थानीय तहमध्ये ३ मा रामबहादुर थापा बादल समूह र ३ स्थानीय तहमा प्रचण्ड समूहले नेतृत्व पाएका थिए।
पूर्व एमालेले जिल्लाको लुंग्री गाउँपालिका, त्रिवेणी गाउँपालिका, रुन्टीगढी गाउँपालिका र गंगादेव गाउँपालिकाको नेतृत्व पाएको थियो। यसैगरी पूर्व माओवादीले रोल्पा नगरपालिका, सुनिलस्मृति गाउँपालिका, सुनछहरी गाउँपालिका, थवाङ गाउँपालिका, परिवर्तन गाउँपालिका र माडी गाउँपालिकाको नेतृत्व पाएको थियो।
पूर्व एमालेबाट लुंग्री गाउँपालिकामा पर्शुराम घर्तीले नेतृत्वको अवसर पाएका छन्। यसैगरी त्रिवेणी गाउँपालिकामा निमप्रसाद रोका, रुन्टीगढी गाउँपालिकामा आशाराम गुरुङले नेतृत्व गरेका छन्। पूर्व एमालेकै भागमा परेको गंगादेव गाउँपालिकामा भने नेतृत्वको विवाद देखिएका कारण हालसम्म जिम्मेवारी तोकिएको छैन। रोशनकुमार वलीलाई अध्यक्षका लागि सिफारिस गरिएपछि विवाद हुँदा उक्त गाउँपालिकामा अध्यक्ष छनोट नगरिएको नेकपा रोल्पाका सचिव हरिप्रसाद घर्तीले जानकारी दिए। 'अध्यक्ष चयन नहुँदासम्म सो गाउँपालिकाभित्र रहेका जिल्ला कमिटी सदस्यहरुको संयन्त्रले काम चलाउने भएको छ,' सचिव घर्तीले भने। सो गाउँपालिकामा नेकपा जिल्ला कमिटीमा १६ जना सदस्य रहेका छन्।
पूर्व माओवादी केन्द्रको तर्फबाट स्थानीय तहमा नेतृत्वको अवसर पाएका मध्ये पुष्पकमल दाहाल समूहबाट सुनछहरी गाउँपालिकामा धनबहादुर पुन, परिवर्तन गाउँपालिकामा सुकबहादुर वुढा र माडी गाउँपालिमा अमरसिं घर्ती रहेका छन्। यसैगरी बादल समूहवाट स्थानीय तहको नेतृत्व पाउनेहरुमा रोल्पा नगरपालिकामा फविन्द्र आचार्य, सुनिलस्मृति गाउँपालिकामा मनिराम बुढाथोकी र थवाङ गाउँपालिकामा रामधन पुन रहेका छन्।
पूर्व माओवादीभित्रको प्रचण्ड समूहको आधार क्षेत्र मानिने रोल्पामा पार्टीको स्थानीय तहको नेतृत्वमा भने सो समूह कमजोर देखिएको छ। जिल्लामा पूर्व एमाले समूह शक्तिशाली देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।