जनकपुर- चकलेट चोरेको आरोपमा ३ जना बालकलाई कपाल मुण्डनगरी गाउँ घुमाएर सजाय दिने वडाध्यक्षले सार्वजनिक रुपमा माफी मागेका छन्।
बाराको कलैया उपमहानगरपालिका १२ का वडाध्यक्ष राजेश्वरप्रसाद केशरी बानियाले जिल्ला प्रहरी कार्यालयमा बारामा बुधबार साँझ सार्वजनिक रुपमा गाँउलेहरुको अगाडि पीडितसँग माफी मागेका हुन्।
नाबालकहरुलाई घरमा थुनेर कुटपिट तथा कपाल मुण्डन गराएको समाचार सार्वजनिक भएपछि वडाध्यक्ष केशरीले प्रहरीको रोहवरमा पीडितसँग सार्वजनिक माफी मागेका हुन्।
गत भदौ १ गते स्थानीय हिरा केशरी बानियाको पसलबाट सोही वडा निवासी रामपुजन मण्डलका ९ वर्षीय छोरा रुपेश, जग्गा पासवानका १० वर्षीय छोरा गुलसन र नथुनी शाह गोरका ११ वर्षीय छोरा राहुलले केही चकलेट चोरेका थिए।
चकलेट चोरी गरेको आरोपमा वडाध्यक्ष केशरीले सो दिन उनीहरुलाई घरमा थुनेर कुटपिट गरी भदौ २ मा कपाल मुण्डन गरेर गाउँ घुमाएका थिए। नाबालकका अभिभावकले वडाध्यक्ष विरुद्ध प्रहरीमा उजुरी गर्दै मंगलबार पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेका थिए।
वडाध्यक्ष र पीडित परिवारबीच जिल्ला प्रहरी कार्यालयमा भएको सहमतिमा वडाध्यक्ष केशरीले सार्वजनिक रुपमै गल्ती स्वीकार गर्दै माफी मागेपछि मिलापत्र गराइएको प्रहरीले जनाएको छ।
बालकहरु माथि एउटा जनप्रतिनिधिले गरेकाे यातनालाई मानवअधिकार उल्लंघन भएकाे भन्दै अधिकारकर्मीहरुले प्रशासनसँग कारबाहीकाे माग गर्दै आएका थीए। मानवअधिकारकाे क्षेत्रका क्रियाशील संस्था इन्सेकका बारा जिल्ला प्रतिनिधि भाेलानाथ पाैडेलले वडाध्यक्षले सार्वजनिक रुपमा माफी मागेपछि घटना साम्य भएकाे बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।