जनकपुर- पसलबाट चकलेट चोरेको आरोपमा बारामा एक वडाध्यक्षले तीन बालकलाई कपाल मुण्डन गरी गाउँ घुमाएको घटना बाहिरिएको छ।
कलैया उपमहानगरपालिका-१२ का वडाध्यक्ष राजेश्वरप्रसाद केशरी बनियाले ३ बालकलाई चकलेट चोरेको आरोपमा घरमा थुनेर कुटपिट, कपाल मुण्डन तथा १ हजार रुपैयाँ जरिवाना गरी गाउँ घुमाएका छन्। पीडित परिवारले मंगलबार कलैयास्थित देवकीलाल धर्मशालामा पत्रकार सम्मेलन गरी सो घटनाबारे जानकारी गराएका हुन्।
गत भदौ १ गते स्थानीय हिरा केशरी बानियाको पसलबाट सोही वडा निवासी रामपुजन मण्डलका ९ वर्षीय छोरा रुपेश, जग्गा पासवानका १० वर्षीय छोरा गुलसन र नथुनी शाह गोरका ११ वर्षीय छोरा राहुलले केही चकलेट चोरेका थिए। सोही आरोपमा वडाध्यक्ष केशरीले तीनै बालकलाई कुटपिट गरी टाउको मुण्डन गरेर गाउँसमेत घुमाएको अभिभावकले दाबी गरेका छन्।
आफ्ना छोरालाई वडाध्यक्ष केशरीले दुर्व्यवहार गरेको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिए पनि प्रहरीले लिन नमानेको बालकका बुबा जागा पासवानले बताए।
वडाध्यक्ष राजेश्वरप्रसाद र हिरा केशरीले 'मुलुकी अपराध सहिता २०७४'को दफा ११८ बमोजिम अभद्र व्यवहार गरेको हुँदा निजहरुलाई गिरफ्तार गरी आवश्यक कारबाही र शरीर बन्धकको कसुरमा सजाय गरी क्षतिपूर्ति दिलाई पाऊँ भनी पीडित पक्षले उजुरीमा माग गरेका छन्।
तर, जिल्ला प्रहरी कार्यालयले उजुरी लिन नमानेपछि दलित अधिकारकर्मी, मानव अधिकारकर्मी, स्थानीय बुद्धिजीवीका साथमा पीडित पक्ष जिल्ला प्रशासन कार्यालयमा जाने तयारीमा छन्।
![](https://nepallive.com/uploads/files/jaheri.jpg)
![](https://nepallive.com/uploads/files/jaheri%20a.jpg)
यस्तो थियो घटना
गत भदौ १ मा हिरा केशरी बनियाँको पसलमा साँझ ७ बजेतिर गुलसन कुमार पासवान आफ्ना २ साथीसँगै चकलेट किन्न गए। गुलसन र उनका साथीहरु पसलमा जाँदा पसल खाली रहेको समयमा ५ वटा चकलेट झिकेर खाए।
गुलसन र उसका साथीहरुले चकलेट खाएको देखी पसलवाला हिरा केशरीले बालकहरुलाई कुटपिट गर्दै वडाध्यक्ष राजेश्वरप्रसाद केशरीको घरमा लिएर गएका थिए।
वडाध्यक्ष राजेश्वरप्रसादले उनीहरुलाई कुटपिट गरी शरीरको पछाडिपट्टि दुवै हात डोरीले बाँधी, खानासमेत खान नदिई रातभर आफ्नो नियन्त्रणमा राखेको जागा पासवानले दाबी गरे। उनले रातभर खोजतलास गर्दा पनि उनीहरु फेला नपरेको बताए।
घटना भएको भोलिपल्ट बिहान ७ बजेको समयमा गुलसनको टाउको मुण्डन गरी गाउँमा घुमाइरहेको जानकारी पाएपछि आफूले वडाध्यक्षको नियन्त्रणबाट मुक्त गरी ल्याएको पासवानको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।