काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार थवाङ गाउँसभाको उद्घाटनमा जानुअघि थवाङ गाउँपालिका अध्यक्ष बीरबहादुर घर्ती ‘वियोग’ बिहीबार राति अपहरणमा परेका छन्।
माओवादी सशस्त्र द्वन्द्वको उद्गम र माओवादीकै प्रतिष्ठाको क्षेत्र मानिने थवाङमा २०४६ पछि पहिलो पटक निर्वाचनमा मतदान भएर जनप्रतिनिधि चुनिएका थिए। माओवादी केन्द्रबाट विजयी भएका घर्ती पुराना माओवादी नेता हुन्।
प्रदेश ५ प्रहरी मुख्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक मिङमार लामाले घर्ती बुधबार राति ११ बजे अपहरणमा परेको जानकारी दिए। उनका अनुसार शौच गर्न घरबाहिर निस्किएका घर्तीलाई १०–१२ जनाको नकावधारी समूहले अपहरण गरेको हो।
किन लैजानुहुन्छ भन्दा ‘यो शनिबारको सभा बिथोल्न गरिएको हो, तिमी भित्र जाऊ’ भनेको घर्तीकी श्रीमतीलाई उद्धृत गर्दै लामाले भने। प्रदेश प्रहरीले हाल स्थानीय प्रहरीका तीन वटा इकाइ सहित जिल्ला प्रहरी कार्यालय रोल्पाको टोलीलाई घर्तीको खोजीमा खटाएको छ।
‘विप्लव समूह (नेत्रविक्रम चन्द) ले अपहरण गरेको भन्ने प्रारम्भिक सूचना पाएका छौं, तीन वटा इकाइबाट प्रहरी घर्तीको खोजीमा परिचालित भएको छ। अपहरणको कारण आपराधिकभन्दा राजनीतिक देखिएको छ,’ एआइजी लामालाई नेपाल लाइभसँग भने।
इलाका प्रहरी कार्यालय उवाँ र इलाका प्रहरी कार्यालय थवाङ सहित जिल्लाको टोली नायव उपरीक्षक वीरेन्द्र थापाको नेतृत्वमा घर्तीको खोजीमा लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।