रोल्पा- रोल्पा नगरपालिका-४ का कुपोषण पिडित श्यामलाल विकको परिवारलाई रोल्पाका दुई पत्रकारले सहयोग गरेका छन्। आफ्नो जन्मदिनको अवसरमा उनीहरुले विक परिवारलाई खाद्यान्न उपलव्ध गराएका हुन्।
विक परिवारको बारेमा नेपाल लाइभमा गत साउन १३ मा 'परिवर्तनले नछोएको परिवार, जसको दैनिकी कुपोषित छोराको पोषणभत्ताबाट चल्छ' शीर्षकमा समाचार प्रकाशन भएको थियो।
कुपोषणको मारमा परेका श्यामलालका छोराहरु ५ वर्षीय विवेक र ४ वर्षीय विकासको कुपोषण सुधारमा सहयोग पुर्याउन खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको पत्रकारद्धयले बताए।
नेपाल प्रेस युनियन रोल्पाका अध्यक्ष लोकेन्द्र चन्द र राष्ट्रिय समाचार समिति रोल्पाका संवाददाता उमा केसीले संयुक्तरुपमा उक्त सामाग्री हस्तान्तरण गरेका हुन्। पत्रकार चन्दले बिहीबार र पत्रकार केसीको बुधबार परेको जन्मदिनको उपलक्ष्यमा विक परिवारलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन्।
श्यामलालका दुवै छोरा कुपोषित भएपछि विभिन्न संस्थाको सहयोगमा यसअघि उनीह्यरुलाई दाङमा रहेको पोषण सुधार गृहमा राखिएको थियो। जसबाट विवेकको कुपोषणमा सुधार आए पनि कान्छो छोरा विकासको भने सुधार हुन सकेको छैन। ४ वर्षका भए पनि उनी कुपोषणकै कारण अझै उठ्न/बस्न सक्दैनन् भने हातखुट्टासमेत राम्रोसँग चल्दैनन्।
विकासलाई दिनभर घरभित्रै थुनेर कामको खोजीमा निस्कनु पर्ने बाध्यता रहेको श्यामलालले बताए। 'काम नखोजे के खाएर बाँच्ने, त्यसैले दिनभरी घरको कोठामा थुनेर काममा जान्छु,' श्यामलालले भने, 'कहिलेकाँही त कामको चापले बिहान निस्केको एकैचोटी बेलुका मात्रै फर्किनुपर्छ, त्यस्तो बेला दिसा पिसाबले घेरिएरको हुन्छ।'
घरमा खाने वस्तु नभएकाले कहिलेकाहीं त दिनभर भोक-भोकै बस्नुपर्छ उनको परिवारलाई। 'कहिले काम मिली पनि हाल्छ, कहिलै धेरै दिनसम्म काम पाइँदैन। यस्तो बेला भोकै बस्नुको हामीसँग कुनै विकल्प छैन,' श्यामलालले आफ्नो भोगाइ सुनाए।
आमा अप्सरा विकले अर्को विवाह गरेपछि विवेक र विकासको लालनपालनको जिम्मा पनि श्यामलाललाई काँधमा आइपुगेको हो। विकास १ वर्ष नपुग्दै अप्सरा घरबाट निस्किएकी थिइन्। दिउँसो ज्यालामजदूरी गरेर ल्याएको पैसाले साँझबिहानको छाक टार्थे उनले।
छोराहरुको रेखदेख गर्ने व्यक्ति घरमा नभएकोले आफूले काम गर्ने ठाउँमै लगेर जान्थे उनी। गिट्टी कुट्ने काममा श्याम तल्लिन हुँदा विवेक र विकासको दैनिकी भने धुलोमै बित्थ्यो। तीन बाबुछोराको दिनचर्या लामो समय यस्तै गरी बित्यो।
शिक्षा र स्वास्थ्यलाई मौलिक हक भनिए पनि श्यामलालको परिवार यस्ता राज्यबाट प्राप्त हुने यस्ता संवैधानिक अधिकार प्राप्तिको बाटोमा सधैं किनारमा रहन बाध्य छन्।
जन्मदिनमा गरिने तडकभडकपूर्ण खर्च बचत गरेर कुपोषणले ग्रस्त परिवारलाई सहयोग गरेको पत्रकार केसीले बताइन्। 'पत्रकारले पनि सामाजिक दायित्व पुरा गर्नुपर्छ। त्यसकारण मैले खाद्यान्न सहयोग गरेको हुँ,' केसीले भनिन्।
एकातिर खान नपाएर मानिसहरु भोकभोकै मरिरहेका छन् भने अर्कोतिर जन्मदिनको नाममा फजुल खर्च भइरहेकाले त्यसलाई चिर्न आफूहरुले यस वर्षदेखि यस्तो कामको थालनी गरेको पत्रकार चन्दले बताए।
पत्रकारद्धयले चामल, तेल, दाल, नुन, बिस्कुट, बेसार, अण्डालगायतका खाद्यान्न विक परिवारलाई हस्तान्तरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।