काठमाडौं– सरकारले हनिमुन अवधि पूरा गरेर उपलब्धि सार्वजनिक गर्दा समेत प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीहरुले सम्पत्ति विवरण भने लुकाएका छन्। पदबहाल गरेको १५ दिनभित्र सम्पति विवरण सार्वजनिक गर्नुपर्ने भए पनि मन्त्रिपरिषदका सदस्यले सम्पत्ति विवरण सार्वजनिक नगरेका हुन्।
देउवा सरकारमा सहभागी ५४ मन्त्रीमध्ये अधिकांशले प्रधानन्त्री कार्यालयमा सम्पत्ति विवरण पेश नै नगरेको पाइएको छ।
सरकारमा सहभागी २८ मन्त्रीमध्ये प्रधानमन्त्री देउवा र तीन उपप्रधानमन्त्री सहित २१ जनाले सम्पत्ति विवरण बुझाएका छन्। ७ जना मन्त्रीले भने विवरण बुझाएका छैनन्। प्रधानमन्त्री कार्यालयले विवरण बुझाउनेहरुको पनि सम्पत्ति सार्वजनिक गरेको छैन। तर, स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलले भने आफैँले सम्पत्ति विवरण सार्वजनिक गरेका थिए।
सम्पति विवरण नुझाउनेहरुमा सिँचाइ मन्त्री सञ्जयकुमार गौतम, कानुन मन्त्री यज्ञबहादुर थापा, सहरी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेत, खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव, पर्यटन मन्त्री जितेन्द्र नारायण देवले सम्पत्ति विवरण बुझाएका छैनन्। हालै मन्त्री भएका उद्योग मन्त्री सुनिलबहादुर थापा, वन मन्त्री विक्रम पाण्डे र विज्ञान मन्त्री दीपक बोहोराको भने विवरण बुझाउने समय बाँकी छ।
मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार २८ राज्यमन्त्रीमध्ये ४ जनाले मात्र सम्पत्ति विवरण बुझाएका छन्। सामान्य प्रशासन राज्यमन्त्री ओङ्दी शेर्पा, कानुन राज्यमन्त्री दिलबहादुर पाख्रिन, सहरी विकास राज्यमन्त्री चम्पादेवी खड्का र भूमि सुधार राज्यमन्त्री यशोदाकुमारी लामाले मात्र सम्पत्ति विवरण बुझाएका छन्। तर, उनीहरुको सम्पत्ति विवरण पनि सार्वजनिक गरिएको छैन।
२०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा प्रधानमन्त्री तथा मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने निर्णय भएको थियो। सपथ लिएको १५ दिनभित्र प्रधानमन्त्रीसहित सम्पूर्ण मन्त्रिपरिषद् सदस्यले सम्पत्ति विवरण बुझाउनुपर्ने र सार्वजनिक गर्नुपर्ने त्यसबेलाको निर्णयलाई पछि बनेका हरेक सरकारले पालना गर्ने चलन बसेको हो।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश रहेका खिलराज रेग्मी नेतृत्वको सरकारले भने यो नियमलाई तोडेको थियो। आलोचना भएपछि सम्पत्ति विवरण बुझाएको दाबी गरे पनि सार्वजनिक भने गरिएको थिएन। गणतन्त्रपछिका सबै सरकारका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्दै आएका छन्।
कुन मन्त्रीले कहिले बुझाए सम्पत्ति विवरण र कुन-कुन मन्त्रीले बुझाएनन्, हेर्नोस् सूचीः


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।