काठमाडौं- राष्ट्रियसभामा दर्ता भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसदमा टेबुल गर्ने विषयमा सहमति भएको छ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पहलमा सोमबार भएको छलफलमा छिट्टै नै सो विधेयक सदनमा अगाडि बढाउन सबै पक्ष सहमत भएको र विवादित विषयलाई संशोधन गर्ने सहमति भएको कांग्रेस सांसद सरिता प्रसाईंले बताइन्।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकक्षमा अध्यक्षसहित, उपाध्यक्ष शशिकला दहाल, सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, राष्ट्रियसभा दलका नेता दिनानाथ शर्मा, विपक्षी दलका नेता सुरेन्द्र पाण्डे, सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराई, विपक्षी दलका सचेतक सरिता प्रसाईं, समाजवादी पार्टीका नेता प्रमिला कुमारी, पत्रकार महासंघका प्रतिनिधिबीच छलफल भएको हो।
सत्ता पक्ष र विपक्ष दुवैले संशोधन हाल्ने र त्यहीबीच पत्रकार महासंघको माग अनुकूल विधेयक बनाउने अन्तिम सहमति भएको उनको भनाइ छ। ‘भोलि सबै बसेर खाका तयार पारेपछि विधेयक अगाडि बढाउने सहमति भयो,’ उनले भनिन्, ‘विधेयकमा सत्ता पक्ष र विपक्षी दुवैको संशोधन समितिमा हुनेछ र त्यही अनुसार राष्ट्रिय सभामा पेस हुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।