काठमाडौं- लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका नेपाली सेनाका बहालवाला सेनानी (मेजर) सेवनकर्ता र बिक्रीकर्ता दुवै रहेको पाइएको छ।
नेपाली सेनाको पूर्वी पृतना इटहरीमा कार्यरत मेजर अजितकुमार सिंह र प्रमोद चौधरी शनिबार साँझ ब्राउन सुगरसहित पक्राउ परेका थिए। उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले पक्राउ गरेको थियो।
अनुसन्धानका क्रममा मेजर सिंह ब्राउन सुगर सेवनकर्ता र बिक्रीकर्ता दुवै रहेको पाइएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समीरचन्द्र खरेलले बताए। ‘मेजर सिंह लागुऔषध सेवनकर्ता र बिक्रीकर्ता दुवै भएको पाइएको छ। तर, हामीले बेच्न लागेको बेला पक्राउ गरेको हौं,' डिएसपी खरेलले भने।
प्रहरीले उनीहरुको साथबाट डेढ ग्राम ब्राउन सुगर बरामद गरेको थियो। मेजर सिंहले भारतबाट ब्राउन सुगर ल्याएर एक-एक डोज बनाएर प्रतिडोज १ हजार रुपैयाँका दरले बिक्री गर्ने गरेको सेवनकर्ताले बताएका छन्।
मेजर सिंहसँगै पक्राउ परेका चौधरी भने सर्वसाधरण व्यक्ति भएको प्रहरीले जनाएको छ।
उनीहरु दुवैजनालाई लागुऔषध मुद्दामा म्याद थप गर्ने तयारी भइरहेको प्रहरीले जानएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।