काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले सरकारले विश्वका विभिन्न देशमा राजदूत बनाएर पठाएका व्यक्तिहरुलाई बिदा मनाउन नपठाएको बताएका छन्।
'नेपाल भ्रमण वर्ष २०२०'को सचिवालयले पर्यटन व्यवसायीसँग गरेको अन्तक्रिया कार्यक्रममा मन्त्री भट्टराईले यस्तो अभिव्यक्ति दिएका हुन्।
‘बुढेसकालमा आराम गर्न, परिवारका सदस्यलाई घुमाउन उहाँहरुलाई सरकारले राजदूत बनाएर पठाएको होइन,' मन्त्री भट्टराईले भने, ‘सरकारले त काम गर्नका लागि राजदूत बनाएर पठाएको हो।’
सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउन लागेको हुँदा उनीहरुले पनि आफ्नो तवरबाट सकेको काम गर्नुपर्ने मन्त्री भट्टराईको भनाइ छ।
मन्त्रालय तथा भ्रमण वर्षको सचिवालयले केही दिनभित्रै नियोग स्थापना भएको देश र राजदूतावास रहेका देशमा राजदूतलाई नेपाल भ्रमण वर्ष सफल बनाउन आवश्यक कामका खाकासहित निर्देशन दिनेसमेत उनको भनाइ छ।
भ्रमण वर्षको सुरुवात गर्दैगर्दा राजदूतले आफू खटाइएका देशका राष्ट्रप्रमुखबाट यो कार्यक्रमको सुरुवात गर्नुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।