कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका नारायण रानाले राँगाबाटै मासिक ९० हजारभन्दा बढी कमाइ गर्दै आएका छन्।
भैँसीमा गर्भाधान गराएर मासिक रुपमा उनले राँगाबाट आम्दानी गर्दै आएका हुन्। दैनिक तीनभन्दा बढी भैँसीमा राँगाले गर्भाधान गर्ने गरेको रानाले बताए।
नगरपालिका क्षेत्रका अधिकांश भैँसीपालकले उन्नत नश्लको राँगा भएकाले रानाकहाँ ल्याउने गरेका छन्। एउटा भैँसीलाई गर्भाधान गराएबापत उनले एक हजार लिने गरेका छन्।
उनले सो राँगा चार वर्षअघि ३५ हजारमा खरिद गरेका थिए।
पाँच जना परिवारको लत्ताकपडा, खाद्यान्न र दैनिक खर्च राँगाको कमाइबाटै मजाले पुग्ने गरेकोमा उनी खुसी छन्। 'राँगाको कमाइबाट आउने रकमले दुई लाख खर्चेर घरमै किराना पसल खोलेको छु,' उनले भने, 'किराना पसल र राँगाको कमाइ गरी मासिक एक लाखभन्दा बढी आम्दानी हुने रहेछ।'
राँगाको घाँसका लागि उनले एक बिघा खेत वार्षिक रुपमा २५ हजार तिर्ने गरी भाडामा लिएका छन्। राँगालाई तन्दुरुस्त पार्नका लागि उनले दैनिक ब्रान्ड, गुँड, खली र भिटामिन घाँससँगै मिसाएर खुवाउने गरेका छन्।
'घरमै बसीबसी वैदेशिक रोजगारीमा गएकाहरुभन्दा बढी कमाइ हुन थालेको छ,' राना खुसी हुँदै भन्छन्, 'तब किन विदेश जानुपर्यो र।'रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।