बाढीले सप्तरीका तीन सिँचाई प्रणालीमा साढे १७ करोडको क्षति

पम्प नहरमा मात्रै १३ करोडको संरचना भत्कियो
दिनेश शर्मा | २०७६ श्रावण २३ बिहीबार | Thursday, August 08, 2019 ०५:५९:०० मा प्रकाशित

राजविराज–असार अन्तिम साताको बाढीले सप्तरीका तीन वटै सिंचाई प्रणालीमा गरी साढे १७ करोडभन्दा बढीको क्षति भएको गरिएको छ।    कोशी पम्प, चन्द्रनहर सिचाई व्यवस्थापन कार्यालय राजविराजका अनुसार वितरण नहर सिचाई प्रणाली, पम्प नहर सिचाई प्रणाली र चन्द्र नहर सिचाई प्रणाली समेतमा उक्त रकम बराबरको क्षति भएको हो।

खाँडो, जिता, त्रियुगा, अमाहा, गंगाजली, महुली, सुन्दरीलगायतका नदीमा आएको बाढीले क्षति गरेको कार्यालयका सिनियर डिभिजनल अधिकृत रंधिर कुमार साहले बताए। तीन वटा नहर प्रणाली मार्फत सप्तरीको ३५ हजार हेक्टर क्षेत्रफलमा सिचाई सुविधा उपलब्ध हुँदै आएको छ।

यस वर्षको बाढीले तीनमध्ये पम्पनहर सिंचाई प्रणालीमा सबैभन्दा बढी क्षति गरेको छ। पम्प नहर प्रणालीमा १३ करोडभन्दा बढी मूल्यको क्षति भएको साहले जानकारी दिए। 

यसैगरी,  वितरण नहर प्रणालीमा १ करोड ७६ लाख र चन्द्रनहर सिचाई प्रणालीमा २ करोड ७२ लाखको क्षती भएको छ।

‘पम्प नहर वितरण प्रणालीको ७/८ ठाउँमा सर्भिस बैंक (सवारी संचालन हुने सडक सहितको बाँध) नै भत्किएको छ,’साहले भने,‘सानातिना क्षति त धेरै छन्।’ 

उनका अनुसार राजविराज-९ को मलेठमा दुई ठाउँ, डाकनेश्वरी नगरपालिकाको लखेश्वर साईफन र बोदेबरसाइन नगरपालिकाको रंजितपुर स्केपमा बाढीले क्षति गरेको छ।

यसैगरी, बलान बिहुल गाउँपालिकास्थित एलडी साइफनमा बिहुल खोलाको बाढीले नहरको दुवैतर्फको बाँध करिब १ सय मिटर क्षति गरेको छ। यसैगरी, शाखा नहरमा समेत धेरै ठाउँमा क्षति पुगेको कार्यालयले जानकारी दिएको छ। 

नहरमा क्षति पुगेपछि मर्मत र पुनर्निर्माणको काम भइरहेकाले हालसम्म पनि पानी संचालन भएको छैन।

पम्प नहर प्रणालीको ‘ए’ र ‘बी’का बीचमा पानी जम्मा गरेर राखिएकाले मर्मतको काम पूरा हुनासाथ माग अनुसार पानी छोडिने सिडिई साहले बताए। ‘करिब २ किलोमिटर क्षेत्रफलमा पानी भरेर राखेका छौं,’ साहले थपे,‘नहर मर्मतको ९० प्रतिशत काम सकिएको छ। त्यसपछि उपभोक्ताको मागका आधारमा पानी संचालनमा आउँछ।’

यसैगरी, चन्द्रनहर प्रणालीको सप्तकोशीको नगरपालिका स्थित गंगाजली साईफन, कंचनरूपको सुन्दरी साईफन र सुब्बाटोल गायतका खण्डमा बाढीले क्षति पुर्‍याएको छ। 

चन्द्रनहर अन्तर्गतका शाखा नहर समेतमा ठाउँ–ठाउँमा क्षति पुगेकाले सामान्य मर्मत सम्भार गरेर पानी संचालनमा ल्याइएको साहले बताए।

यस्तै, वितरण नहर प्रणालीका १३ वटै शाखा नहरमागरी २५ ठाउँमा वाढिले क्षति पुर्‍याएको छ। स्थानीय उपभोक्ताहरूलाई प्रयोग गरी वितरण नहर प्रणाली अन्तर्गतका शाखा नहरहरुको मर्मत गरिएको साहले बताए। ‘धेरै ठाउँमा उपभोक्ता आफैंले मर्मत गरे, कतिपय ठाउँमा हामीले बोरा राखेर बाध मर्मत गरायौँ,’ उनले भने,‘अहिले सबै ठाउँमा पानी संचालनमा आइसकेको छ।’

पम्प नहरको पुनर्निर्माण आवश्यक
पम्प नहर सिंचाई प्रणालीको अन्त्यतिर बलान-बिहुल गाउँपालिकास्थित नहरको बाँध पुनर्निर्माण गर्नुपर्ने अवस्था देखिएको कोसी पम्प, चन्द्रनहर सिचाई व्यवस्थापन कार्यालय राजविराजले जनाएको छ।

‘२५/३० वर्षअघि तत्कालीन बिहुल नदीको बाढीलाई लक्षित गरी संरचनाहरू तयार भएका छन्,’साहले भने,‘तर, अहिले बलान र अन्य साना नदीको बाढी पनि बिहुल नदीमा मिसिएर आउँदा पुरानो संरचनाले थेग्न सकेको छैन।’

नयाँ संरचना निर्माणका लागि करिब ६ करोडको योजना बनाएर मन्त्रालय र विभागमा बजेट माग गरिएको बताएका उनले हरेक वर्ष समस्या खेप्नु भन्दा एकै पटक दिर्घकालीन समाधान खोज्नु उपयुक्त हुने धारणा राखे।