

विराटनगर– लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि पूर्वमा ७ अर्ब लगानीको समृद्धि आयोजना सुरु भएको छ। पूर्वाञ्चलका ९ जिल्लामा यो आयोजना सुरु गरिएको हो।
आयोजनाले ६० हजार उद्यम सञ्चालन र ३० हजार बेरोजगार युवालाई रोजगारी दिने उद्देश्य राखेको आयोजनाका विकास अधिकृत राकेश झाले जानकारी दिए। उनका अनुसार पूर्वाञ्चलको कोशी–सगरमाथा करिडोरअन्तर्गत झापा, मोरङ, सुनसरी, धनकुटा, तेह«थुम, भोजपुर, खोटाङ, सप्तरी, सिरहा र उदयपुरमा आयोजनाले काम गर्नेछ।
आयोजनाले स्थानीय उद्योग वाणिज्य संघसँग सहकार्य गरेर काम थाल्ने तयारी गरेको छ। आयोजनाले ९ वटै जिल्ला उद्योग वाणिज्य संघसँग विराटनगरमा परियोजना सञ्चालनको सम्झौतासमेत गरेको छ। कार्यक्रममा सम्बन्धित जिल्लाका उद्योग वाणिज्य महासंघका पदाधिकारी र समृद्धि परियोजनाका अधिकारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।
आयोजनाले रेमिटेन्सको उपयोग गर्न वैदेशिक रोजगारीमा विदेश गएका आफन्तको परिवार र वैदेशिक रोजगारीबाट फर्केका युवालाई प्राथमिकतामा राखेर काम अघि बढाउने जनाइएको छ। वैदेशिक रोजगारीबाट भित्रिएको रेमिटेन्स उत्पादनमूलक काममा प्रयोग नहुँदा देश परनिर्भरतातर्फ गइरहेको परिपेक्षमा रेमिटेन्स उपयोगलाई प्रोत्साहन गर्ने आयोजना सञ्चालन हुनु सकारात्मक भएको स्थानीय उद्योगीहरूले बताएका छन्।
परियोजनाले रेमिट्यान्सको उपयोगसँगै सञ्चालनमा रहेका साना तथा मझौला उद्योग प्रवद्र्धनको लक्ष्य राख्नु थप सकारात्मक रहेको उनीहरूको धारणा छ। समृद्धि आयोजनासँगको सम्झौतापत्र नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सम्बन्धित जिल्ला उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरिन्। कार्यक्रममा राणाले समृद्धि आयोजनाले पूर्वाञ्चलका साना तथा मझैँला उद्योग सञ्चालन गर्दै आएका उद्यमी तथा नयाँ उद्योग सञ्चालन गर्न चाहने नयाँ उद्यमीलाई प्रोत्साहन गर्ने बताइन्।
आयोजना सञ्चालनमा रहेका जिल्लाहरूमा घरेलु तथा साना उद्योगहरू फस्टाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेकी छिन्। कृषि क्षेत्रका लागि धेरै परियोजनाहरू सञ्चालनमा रहेपनि समृद्धि परियोजनाले कृषि र गैरकृषि दुवै क्षेत्रलाई समेट्नु सकारात्मक रहेको उनले बताइन्। राणाले बाढीका कारण पूर्वका उद्योगहरूमा ३ अर्ब बढीको नोक्सानी भएकाले उद्यमीहरूलाई सरकारले राहत दिनुपर्ने माग गरिन्।
उनले बाढीबाट क्षति पुगेका उद्योगी व्यवसायीलाई बैकको ऋणमिन्हा गर्नुपर्ने, ऋण मिनाहा गर्न नसके पनि ब्याज तिर्ने अवधि थप्नुपर्ने माग उद्योग वाणिज्य महासंघले राखेको जानकारी दिइन्। ‘ब्याज मिनाहाका लागि महासंघले सरकारसँग पहल गरिरहेको छ,’ उनले भनिन् । पूर्वका उद्योगीहरूको मागअनुसार सेज स्थापनाका लागि उद्योग वाणिज्य महासंघले सरकारसँग पहल गरिरहेको उनले जानकारी दिइन्।
भारतको जोगवनीसम्मको ब्रोडगेज रेल नेपाली आयातकर्तालाई पनि प्रयोग गर्न पाउने व्यवस्था गर्न महासंघले सरकारलाई भारतसँग कुटनीतिक पहल गर्न आग्रह गरेको उनले बताइन्। कार्यक्रममा महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, पूर्वउपाध्यक्ष किशोर प्रधान, पूर्वाञ्चल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशका अध्यक्ष नगेन्द्र खड्का, उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायलगायतले साना उद्योगको प्रवद्र्धनले नै ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्न सकिने धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।