काठमाडौं– तपाईंले सार्वजनिक सवारीसाधनमा विभिन्न खाले हिंसा भोगिरहनुभएको छ?
निर्धक्कसाथ ९८५१२८९१११ मा फोन गर्नुस्, तपाईंको नाम, नम्बर र ठेगाना समेत गोप्य रहनेछ। हिंसा गर्ने व्यक्ति तत्काल कारबाहीको भागीदार हुनेछन्।
सवारीसाधनमा यात्रा गर्दा अनावश्यक छुन वा टाँसिन खोज्ने, गोप्य अंगमा हात लैजाने वा अश्लील शब्द प्रयोग गर्ने गुनासो बढेपछि प्रहरी सक्रिय भएको हो। महानगरीय प्रहरी कार्यालयबाट ३३ वटा टोली यतिबेला सार्वजनिक सवारीसाधनमा हुने यौनजन्य हिंसा रोक्न तयारी अवस्थामा छ। यही टोलीका प्रहरी सादा पोसाकमा तपाईं चढेको सवारी साधनमा समेत हुन सक्छन्।
काठमाडौं उपत्यकामा सार्वजनिक यातायातलाई महिलामैत्री बनाउने उद्देश्यले महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गत साउन १८ बाट ‘सेफ्टी पिन अभियान’ सञ्चालन गरेको हो। अभियान अन्तर्गत एक महिनामा ७१ जना पक्राउ परेका छन्।
सार्वजनिक यातायातमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य दुर्व्यवहारलाई न्युनीकरण गरी उनीहरुको लागि सुरक्षित यात्रा गर्ने वातावरण बनाउन प्रहरीले ३३ वटा टोली बनाएको हो। यही टोलीमा रहेका प्रहरी उपत्यकामा गुड्ने विभिन्न सार्वजनिक सवारीसाधनमा सादा पोसाकमा परिचालन भइरहेका छन्। प्रहरीले उपत्यकामा चल्ने सवारीसाधनमा दुर्व्यवहार गर्नेलाई नियन्त्रणमा लिने क्रममा काठमाडौंबाट ६१ तथा ललितपुर र भक्तपुरबाट ५/५ जना पक्राउ गरिसकेको छ।
अभियान अन्तर्गत यौनजन्य दुर्व्यवहार, अपशब्द र गालीगलौज गर्ने ४८, अश्लील हर्कत गर्ने १० र अन्य ५ जना तथा सार्वजनिक सवारीसाधनमा पाकेट मार्ने ८ जनालाई नियन्त्रणमा लिएकोमा हिंसाको गाम्भीर्य अनुसार २४ जनालाई मुद्दा चलाइएको र ४७ जनालाई यस्तो कार्य नदोहोरिने गरी आफन्तको जिम्मा लगाइएको सो कार्यालयले जनाएको छ।
यौनजन्य दुर्व्यवहार र गालीगलौज गर्ने ४८ मध्ये सबैभन्दा बढी साधारण लेखपढ जानेको ३८ जना छन् भने स्नातकोत्तर गरेका एक जनासमेत रहेका छन्।
यस्तो हिंसाजन्य क्रियाकलापमा १५ देखि २५ वर्ष उमेर समूहको बाहुल्य देखिन्छ। 'यात्रा गर्दा गोप्य अंगमा छुने, जथाभावी अश्लील बोल्ने, महिलाउपर यौन दुर्व्यवहार गर्नेलाई हिंसाको रुपमा लिएका छौं,' अभियानको नेतृत्व गरिरहेकी प्रहरी निरीक्षक शर्मिला गुरुङले भनिन्।
अभियान सञ्चालनअघि उल्लेख्य उजुरी नआएको र आइहाले पनि मिलापत्रमा छाड्ने गरिएको पाइएको कार्यालयले जनाएको छ।
प्रहरी निरीक्षक शर्मिला गुरुङ यौनजन्य हिंसा अन्त्यका लागि प्रहरीले तीन वटा रणनीति बनाएको बताउँछिन्। उनका अनुसार सादा पोसाकमा एक सयभन्दा बढी प्रहरी सबै रुटका सवारीसाधनमा यात्रुका रुपमा हिँडिरहेका छन्। यस्तै, उपत्यकामा रहेका २९ वटा सामुदायिक प्रहरीले जनचेतना फैलाउने कार्य गरिहेका छन्। र, तीन वटै परिसर मातहत आएका उजुरीउपरको कारबाही प्रक्रिया अघि बढेको छ।
‘पीडितले उजुरी नै नगर्दा पीडकको मनोबल बढेको अनुसन्धानमा देखियो,' उनले भनिन्, 'यौनजन्य हिंसालाई निरुत्साहित गर्न पीडितलाई उजुरी दिन र पीडकलाई कडा कारबाही हुने चेतावनीका लागि अभियान थालेका हौं।’
यो अभियान ३ महिनासम्म निरन्तर सञ्चालन हुने र त्यसपछि आवश्यकता अनुसार अभियानको अवधि थपिने भएकाले निर्धक्कसँग उजुरी गर्न कार्यालयले आह्वान गरेको छ।
उजुरीका लागि प्रहरीको हटलाइन १०० वा ९८५१२८९१११ मा खबर गर्न सकिने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।