काठमाडौँ- दसैंको अवसरमा दैनिक ६ हजार सार्वजनिक यातायातले यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्या उने भएका छन्।
दसैंको समयमा धेरै मानिस चाडपर्व मान्न उपत्यका बाहिरिने भएकाले दैनिक ६ हजारभन्दा धेरै सवारीसाधनले सेवा दिन लागेका हुन्। हरेक वर्ष चाडपर्वलाई लक्षित गरी सार्वजनिक नम्बर प्लेटका सवारीसाधन थप गर्ने गरे पनि यो वर्ष भने कुनै नयाँ बस थप भएको छैन।
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बैंकको महँगो ब्याज र बाटोको दुरवस्थाका कारण नयाँ बस थप गर्न नसकेको बताए। महासंघले गत वर्षमात्र ठूलो संख्यामा सार्वजनिक यातायात थप गरेको थियो। यसका अलावा दसैंमा पर्यटकीय बस, निजी सवारीसाधनमा समेत यात्रु घर जानेछन्।
यो वर्षमात्र २०-२१ लाख मानिस दसैं मनाउनका लागि घर जाने यातायात व्यवस्था विभागको अनुमान रहेको छ। विभागका प्रवक्ता डा टोकराज पाण्डे १५-१६ लाख मानिस सार्वजनिक सवारीसाधनमा तथा ५-६ लाख मानिस निजी सवारीसाधनमा घर जाने बताउँछन्।
हाल काठमाडौँको नयाँ बसपार्क, गौशाला, कोटेश्वर, पुरानो बसपार्क, कलंकी लगायतका स्थानबाट लामो तथा छोटो दुरीका सवारीसाधन छुट्ने गर्छन्। दसैंलाई लक्षित गरेर सरकारले भदौ २७ गतेदेखि लामो तथा मझौला रुटको टिकट बुकिङ खुला गरिसकेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले दसैंको समयमा उपत्यका भित्रिने तथा बाहिरिने ४ वटा नाकाबाट दसैंको समयमा दैनिक एक लाखभन्दा बढी मानिस बाहिरिने बताए।
महाशाखा, विभाग लगायत विभिन्न संघसंस्थाको सहयोगमा दसैंमा यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले उपत्यकाका १२ स्थानमा यात्रु सहायता कक्षसमेत स्थापना गरिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।