वासिङ्गटन (डिसी)- अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलर अर्थात् करिब रु ५० अर्ब बराबरको रकमसम्बन्धी सम्झौतामा आज वासिङ्गटन डिसीमा हस्ताक्षर हुँदैछ।
नेपाल सरकारका तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी सरकारका तर्फबाट उपविदेशमन्त्री जोन जे सुलीभानले हस्ताक्षर गर्दैछन्।
सम्झौता अनुसार कुल ६३ करोड डलरको कोष हुनेछ, जसमा नेपाल सरकारले १३ करोड डलरको योगदान हुनेछ भने अमेरिकी सरकारको ५० करोड डलर सहयोग हुनेछ। यो रकममार्फत लगानी गरेर नेपालको सडक सुधार र विद्युत् विकासका लागि एक एकीकृत योजना बनाइनेछ।
अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुन कार्कीले यो सम्झौता नेपालको दिगो विकासको लागि यो महत्वपूर्ण भएको बताए।
अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) अन्तर्गत नेपाल यो सुविधा पाउने दक्षिण एसियाली क्षेत्रको एक मात्र देश हो। एमसिसी नेपाल कम्प्याक्ट नाम दिइएको उक्त सम्झौता अन्तर्गत प्राप्त गर्ने रकमले नेपालको गरिबी न्युनीकरणका लागि र महत्वपूर्ण पूर्वाधार निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।