एउटा स्वर्गीय दिन-
सात बजिसक्दा पनि सुरु हुन मान्दैन।
एकछिनमा 'क्लास-फ्रेन्ड' आएर दिनको उद्घाटन गरेर जान्छन्।
अनि फेरि 'ग्लास-फ्रेन्ड' आएर दिनको विसर्जन र रातको उद्घाटन गर्छन्।
जिन्दगीको आयुबाट छुट्टिन्छ र एउटा मृत दिन दुब्लाएर जान्छ।
हतार छैन।
- छैन, आज ऊ आएको छैन।
बिहान।
७:१३ बजे।
नाम नभएको एक बेनाम दोकान।
यहाँ चिया नास्ता पाइन्छ- पनि कतै लेखिएको छैन।
- आज दूधको चहकिलो मोटो चिया खानुपर्छ।
- आलुचप पनि खाने चार-चार वटा।
- चार चौको सोह्र ,सोह्र पन्चे असी- ऊ गणितीय साहित्यिक वाक्य बोलेर बेन्चमा सुस्ताउँछ।
अब बोल्ने पालो मेरो- दाइ, चार ग्लास च्या!
- ल ल।
कस्तो आलु जस्तो बेस्वादिलो चिया आलुचप गोष्ठी। चुरोट प्युने कोही छैन। भएको भए म लेख्थेँ- उसले एक चिम्नी धुवाँको मुस्लोलाई बिदाइ गर्यो। धुवाँले उसकी प्रेमिकाको अनुहार बनाउँदै निल्दै गर्यो र शून्यमा बिलायो। केवल शून्य। जिन्दगी जस्तो!
चिया आएर टेबलमा उभिएको छ। तातोतातो सास फेरिरहेछ। अँ फेरि रहेछ।
दिनेश। एउटा मीठो मान्छे।
पचास मिलिलिटर अग्लो ग्लासको पाइतला डुबाइरहेको चियाको अनुहारबाट आफ्नो अनुहार झिकेर आँखा साहुको अनुहारमा फ्याकेर सोध्छ- यति च्या कहाँ चढाउने हो?
- 'कानमा', साहु मुस्कुराउँदै बोल्छ।
उसले चिया पिइरहेको छैन।
मुख खोलेर जिब्रो र ओठ चलायो।
त्यस समयमा यस्तो आवाज आकाशतिर धकेलियो- आजको पैसा म तिर्छु।
- लिनुस् पैसा।
- जम्मा पाँच रुप्पे? कहाँ राख्ने यो?
- फ्रिजमा।
हामी निस्कियौं।
- कस्तो घाँस दोकानमा लिएर आयो मुलाङले!
- बोकाहरुलाई ल्याउने नै घाँस दोकानमा हो।
- साहुलाई भनिदे- श्रीमतीको स्तन पखालेको पानीलाई हामी बाक्लो मोटो दूधचिया भन्दैनौं भनेर।
गफको सिलसिलालाई जारी राख्ने क्रममा एउटा मुखबाट प्रश्न निस्किन्छ- ल भनओ त सबैभन्दा मीठो दुई शब्द के हो?
तीन मुखबाट एउटै उत्तर आउँछ- अर्काकी श्रीमती।
- अनि नमीठो?
- आफ्नी स्वास्नी।
एकलट हाँसेर निस्कर्ष निस्किन्छ- ल अब हामी च्यातिनुपर्छ।
कोठामा आएपछि यो मनमा फेरि रेसुङ्गाको खोचमा झैं कुहिरो मडारिन थाल्छ। दिनभर कुहिरो लाग्छ, तर पानी पर्न सक्दैन। कस्तो पीडा! कस्तो अवस्था! म कसरी बताऊँ कि मलाई यो भइरहेछ।
साढे नौ घन्टा अग्लो दिन चढेपछि साँझ आउँछ। दिनभर मभित्र म पहिरो बनेर खस्छ। मनको पाखोबाट मन भत्किएर खसेको माटोले मनको अचेतन नदी रोकिन्छ। म भन्न सक्दिनँ, म लेख्न सक्दिनँ कि कसरी बिताएँ दिन। कसरी चढेँ त्यति अग्लो दिन। साँझको कुइनेटोबाट दिनतिर हेर्छु। हेर्न लायक छैन, तैपनि हेर्छु। दिनको अनुहारमा तमाल लागेको छ। खोंचहरूमा बाक्लो कुहिरो लागेको छ।
फर्किएर रातको उचाइ नाप्छु। मुत्युको भन्दा थोरै कम रहेछ। कसरी चढ्ने होला यो उकालो? कसरी कटाउने होला यो रात? जिन्दगीको कुइनेटोमा पुर्याएर छोड्नेलाई धन्यवाद!
साँझको अन्तिम भाग।
रातको सुरु क्रम।
६:२१ बजे।
प्रिय मदिरालय।
एकथान 'ह्वाइट् वे लेड' कम्पनीको सम्बन्ध बनाइएको थियो। माउजङ बाबुसाहेबको कोट जस्तै रवाफिलो थियो। केही दिनअघि च्यातियो। अचेल ह्याङ्गरमा झुन्डिएर मलाई हेरिरहन्छ।
अजिङ्गरको मुख जस्तो गल्लीबाट एउटा छाया होचो मान्छेलाई लिएर भित्र पस्छ। अँध्यारोले दिनलाई निल्न थाल्छ। सूर्यले आँखा चिम्लिन्छ र एउटा दुब्लो क्लियोपेट्रा रात पर्छ। क्रमशः काँचको गिलास भरिँदै रित्तिँदै गर्छ।
'ग्लास-फ्रेन्ड' आइसकेका छन्।
भनौं मेरो पर्खाइमा छन्।
- ठीक छस्?
- अँ। कति बेला आयौ?
'भर्खर'- एकजना बोल्छ।
एउटा बोतल चार ग्लासमा विभाजित भएर संघीयताको नमुना पेस गर्छ। एकछिनमा एउटा विभाजित मदिरा राष्ट्र लोप हुन्छ सधैंका निम्ति।
त्यसभन्दा अघि। म ग्लासमा हेर्छु। एउटा गह्रौं हृदय ग्लासको मदिरामा तैरिँदै डुब्दै तैरिँदै डुब्दै गरिरहेछ।
म सोच्न थाल्दिनँ कसको हृदय हो त्यो। यही क्रम रात तन्नेरी हुँदासम्म चलिरहन्छ। द्रौपदी कुमाल आउँछे। पाण्डवहरू मन नपरेको कुरा सुनाउँछे।
'दु:शासनले प्रेमपत्र बारबार पठाइरहन्छ। अचेल त ऊ मलाई मन पर्न थाल्यो। अस्ति त मेरो सारीभन्दा लामो प्रेमपत्र पठायो। हिजो पत्र पठाएन, तर अस्तिको प्रेमपत्रभन्दा लामो याद पठायो', यस्तै-यस्तै कुरा सुनाउँछे।
अस्ति गान्धारी शर्माले पनि आँखामा पट्टी बाँध्न पटक्कै मन नलागेको कुरा गरेकी थिई। खै! आज अझैसम्म आएकी छैन यहाँ।
सन्तकुमार थारु पनि अघि भर्खर एउटा काठको घोचोको दुई टुप्पामा बाँधेर एकएक कार्टुन भोड्का बोकेर जाँदै थियो।
सोध्न मन लागेन- बा-आमालाई कता छोडिस्?
म निक्लिएँ।
निक्लिँदा रात पनि निदाइसकेको हुन्छ। पर कतै एम्बुलेन्सलाई यमराजले खेदिरहेको आवाज आउँछ।
म भन्छु- भो छोड्दे उसलाई, आइजा जिन्दगीको बदनाम गरौं।
'चुरोट लिन्छस्?' म बोल्छ।
'लिन्नँ'- म प्रतित्युतरमा बोल्छु।
के लिन्छस् ?
- केही लिन्नँ।
केही त पक्का लिन्छस्। दुब्लो छस् । भन् के लिन्छस्?
- चिन्ता लिन्छु। भात नखाएको ३ छाक पूरा भो।
फेरि म बोल्छ- हिँड्, तलतिर जाऔँ।
अँध्यारोले मौन हल्ला गर्छ। क्रमशः टक टक टक आवाज रित्तिँदै जान्छ म र म अघि बसेको ठाउँबाट।
उss परबाट हेरिरहेको अघि हामी बसेको ठाउँले जान्दछ कि हामी तल पुगिसक्यौं।
म आफ्नो देब्रे हातको नाडी हेर्छु।
कुन्नि कति बजेको छ। होस्, बजिराखोस् जति बजे पनि!
आँखाका डिल बाक्ला भैसकेछन्। परेला भारी भएका छन्।
दिल पातलिँदै गएपछि डिल बाक्लिँदा रहेछन्।
म बाहिर निस्किन्छु। शहरमा भर्खर सिनेमा सकिएको छ।
त्यही भीडमा मिसिन्छु। भीडले धकेलेर अल्लि पर पुर्याउँछ मलाई। कुन्नि कति बजे हो, म कोठामा आइपुगेको हुन्छु।
नमन मेरा 'क्लासफ्रेन्ड' र 'ग्लासफ्रेन्ड'लाई।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।