रंगेली (मोरङ)– मोरङको दक्षिणी क्षेत्रका कृषकहरु यतिबेला सनपाट (पटुवा) खेतीबाट चिन्तित बन्न थालेका छन्। मेहनतअनुसारको आम्दानी र उत्पादमा ह्रास आएपछि उनीहरु निराश बनेका हुन्।
रंगेली नगरपालिका ७ का कृषक रमेशकुमार मन्डल भन्छन्, ‘यो वर्ष १० कट्ठामा ३०–३५ हजार खर्चेर सनपाट खेती गरेको थिए। पहिलेको तुलनामा भाउ घटेको छ।’
विगतमा प्रतिमन २४ सय रुपैयाँ भाउ रहेको सनपाटको यस वर्षको मूल्य १६ सय रुपैयाँ कायम गरिएको छ।
सनपाट काट्न गाह्रो पर्ने र मजदुर अभावमा समस्या थपिएको कृषकहरु बताउँछन्। उनीहरुका अनुसार १० कट्ठामा सनपाट लगाउँदा बिउदेखि हुर्काउँदासम्म १८ हजार रुपैयाँ खर्च हुुन्छ। सनपाट खेती गर्दा आम्दानी नहुने कारण पछिल्लो समय मानिसहरु धान खेतीतर्फ आकर्षित भएको रंगेली नगरपालिका ६ का उमेश मन्डल बताउँछन्।
विगत वर्ष ५ हजार ७ सय ३८ हेक्टरमा सनपाट खेती भएको थियो। जसबाट ८ हजार ६ सय ७ मेट्रिक टन सनपाट उत्पादन भएको थियो। यस वर्ष ५ हजार ४ सय ४२ हेक्टरमा सनपाट खेती भएकोमा ८ हजार २ सय ८५ मेट्रिक टन मात्र उत्पादन हुने अवस्था छ। गत महिना आएको बाढीका कारण करिब १ सय १० हेक्टरको सनपाट खेतीमा नोक्सानी भएको छ।
‘काटेर राखेको र पानीमा डुबाएको र खेतमा रहेको सनपाट ढलेका कारण यसपालि सोचेभन्दा कम उत्पादन हुनेछ’, जिल्ला कृषि कार्यालय विराटनगरका वरिष्ठ कृषि अधिकृत मनोज यादव बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।