अझै कति निर्मलाहरु मर्नुपर्छ गृहमन्त्रीज्यु?

मनोज पण्डित | २०७६ श्रावण १० शुक्रबार | Friday, July 26, 2019 १३:४५:०० मा प्रकाशित

‘निर्मला पन्तको घटना नौलो होइन। यस्तो घटना हिजो पनि भएको थियो, अहिले पनि भइरहेका हुन्छन्। भोलि पनि लामो समयसम्म यस्ता घटनाहरु हुन्छन्।’ 

गत मंगलबार गृह मन्त्रालयमा सञ्चारकर्मीहरुबीच गृहमन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्ति हो यो। मिडियामार्फत उनको यो भनाइन सुनेर मन झसंग भयो। वास्तवमा उनले सत्य बोलेका हुन्। के त्यसो भए उनी आफ्नो पदको मूल्य मान्यता जोगाउन नसकेको भनेर आत्ममूल्यांकन गरेर राजीनामा दिन तयार छन् त? पक्कै छैनन्। किनकि जो आए पनि केही गर्न सक्दैन भन्ने उनलाई राम्ररी थाहा छ। र, उनलाई अर्को कुरा पनि थाहा छ कि त्यहाँ पुगेपछि त्यस्ता मूल्य मान्यताको कुनै मूल्य हुँदैन।

यो भनाइको अर्थ हो, अरु थुप्रै निर्मलाहरु लाइनमा छन् मारिनका लागि। कसको स्वार्थ र आवश्यकताका लागि निर्मलाहरु मारिँदैछन् यो देशमा? 

निर्मला, मलाई माफ गर। तिम्रो नाम धेरै उच्चारण गर्नुपर्‍यो। तिमीलाई म सिधै भन्न चाहन्छु, तिम्रा परिवारले न्याय पाउँदैनन्। सपनामा आएर भए पनि आमालाई भनिदेऊ कि- 'मलाई सम्झेर रुन छोडिदेऊ।'

कतै यो देशका हजारौं बुद्धिजीवी भनाउँदाहरु निर्मलाहरुलाई कुरी बसेका त छैनन्? कोही आन्दोलन गर्न, कोही समाचार/विचार लेख्न त त कोही केस मिलाउन! धेरैथरीका मानिसलाई धेरै खालका काम निस्कन सक्छ निर्मलाहरु मारिएपछि। 

निर्मलाहरु कञ्चनपुरका होऊन् या तराई मधेसका। पहाड वा हिमालतिरका नै किन नहोऊन्, सबैको नियति उस्तै छ। यिनीहरुका नाममा सक्नेहरुले धेरै कुरा सकिइसके। हिजो पनि सकेकै हुन्,आज पनि सक्दैछन् र भोलिलाई पनि मौका कुरिइरहेका छन्।

तराईमा दहेजका निहुँमा थुप्रै निर्मलाहरु जल्छन्। गृहमन्त्री ज्युलाई सोध्नुभयो भने उहाँले भन्नुहुनेछ, 'हिजो पनि जलाइन्थ्यो, आज पनि छ र भोलि पनि जल्ने क्रम रहिरहन्छ।' 

प्रधानमन्त्रीलाई त झुक्किएर पनि सोध्नुहुन्न। उहाँसँग बनिबनाउ उत्तर छ, 'मैले जलाउन लगाएको हो र? के शेरबहादुर देउवा हुँदाचाहिँ जलेका घटना थिएनन्?'

हो, यो देशमा सबै कुरा जो हिजो हुन्थ्यो। आज पनि हुँदैछ। र, भोलि पनि भइरहनेछ। जस्तो कि भ्रष्टाचार, कुशासन, अराजकता, विसंगति, माफियातन्त्र, दण्डहीनता, अन्यायाय आदि इत्यादि। 

मेरो पुस्ता मौन बसिरहने हो भने निर्मलाहरु मरिरहनेछन्। अनि प्रश्न उठ्नेछ- 'कति निर्मलाहरु मरेपछि जाग्नेछ मेरो पुस्ता?' र, मेरो प्रश्न गृहमन्त्रीलाई- 'पीडितले न्याय पाउन अझै कति निर्मलाहरु मर्नुपर्छ?'

यस्तो देशमा यदि कोही गरिब, कमजोर, सामान्य घरमा जन्मियो भने त्यो उसको अपराध हुनेछ। त्यसैको सजाय स्वरुप कि त ऊ मुग्लान भासिनुपर्छ कि त बाढी-पहिरोमा बग्नुपर्छ। कि त निर्मला जस्तै मारिनुपर्छ। 

नमिता-सुनिता काण्ड इतिहासमा भएकै हो। आज निर्मला अर्को इतिहास बनिन्। भोलि विमला, शर्मिला, उर्मिलाहरु सुनिएला। प्यासीहरु भने सधैं नै रहिरहनेछन्। सत्ता प्यासीहरुलाई काँधमा बोकेर हिँडी नै रहनेछ। 

'न्याय दिलाउन सक्दैनौ भने घाउ दुखाउन नआऊ' भन्ने गरिन्छ। तर कसैका घाउ कसैका स्याउ बन्छ यहाँ। रमाइलो छ यहाँ; आँसु बग्नुपर्छ, रगतको आहल जम्नुपर्छ तब मात्र राजधानी सलबलाउँछ। राजधानी जहाँ मात्र सिंहदरबार, बालुवाटार, लैनचौर, केही थान विदेशी निकाय, बग्रेल्ती स्वदेशी निकय अनि केही ठूला रेस्टुरेन्टले भरिभराउ छन्। त्यहाँ त्यो आँसु र रगतको पीडाको कुनै अर्थ हुँदैन बरु पैसाको मोलमोलाइ हुन्छ, नाफाको हिसाबकिताब हुन्छ। अनि राति ककटेल पार्टी हुन्छ। 

मलाई निर्मलाहरु मारिँदा आश्चर्य लाग्दैन। उनको हत्यारा पत्ता नलाग्दा पनि अचम्म लाग्दैन।

निर्मला, मलाई माफ गर। तिम्रो नाम धेरै उच्चारण गर्नुपर्‍यो। तिमीलाई म सिधै भन्न चाहन्छु, तिम्रा परिवारले न्याय पाउँदैनन्। सपनामा आएर भए पनि आमालाई भनिदेऊ कि- 'मलाई सम्झेर रुन छोडिदेऊ।' 

दुर्भाग्य, देशका गृहमन्त्रीसँग निर्मलाका आमासँग माफी माग्ने हिम्मत अनि विवेक पनि छैन। यति गैरजिम्मेवार अभिव्यक्ति दिएर आफ्नो जिम्मेवारीबाट कति सहजै उम्किन्छन्। 

गृहमन्त्रीकै भनाइ सुन्ने हो भने तपाईंका छोरी/दिदीबहिनी/आमा/काकी/भान्जी… बलात्कृत भइरहनेछन् अब पनि। तपाईंहरु रुनु कराउनुहुनेछ। आन्दोलन धर्ना हुनेछन्। पत्रिकाका हेडलाइन बन्नेछन्। बिस्तारै वर्षौं बित्नेछ। तपाईंले पीडा बिर्सन थाल्नुहुनेछ। समाजले बिर्सनेछ। समाजलाई सम्झाउन फेरि अर्को निर्मला आउनेछिन्।

दुर्भाग्य, देशका गृहमन्त्रीसँग निर्मलाका आमासँग माफी माग्ने हिम्मत अनि विवेक पनि छैन। यति गैरजिम्मेवार अभिव्यक्ति दिएर आफ्नो जिम्मेवारीबाट कति सहजै उम्किन्छन्। 

हाम्रो यो पुस्तालाई आउने पुस्ताले अवश्य प्रश्न गर्नेछ- 'तिमीले निर्मलालाई जोगाउन के गर्‍यौ? कतै तिमी निर्मलाको लासमाथि बनेका कथा र सिनेमा हेरेर मनोरन्जन लिँदैमा व्यस्त त भएनौ?'

मेरो पुस्ता मौन बसिरहने हो भने निर्मलाहरु मरिरहनेछन्। अनि प्रश्न उठ्नेछ- 'कति निर्मलाहरु मरेपछि जाग्नेछ मेरो पुस्ता?' 

र, मेरो प्रश्न गृहमन्त्रीलाई- 'पीडितले न्याय पाउन अझै कति निर्मलाहरु मर्नुपर्छ गृहमन्त्रीज्यु?'