काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन कहिले हुने भन्ने निश्चित नभए पनि त्यसका लागि कसरत तीब्र भइरहेका छन्। सभापति शेरबहादुर देउवाले पनि सभापतिमा दोहोरिन आन्तरिक सक्रियता बढाएका छन्। यसका लागि उनले प्रमुख रुपमा दुई रणनीति अख्तियार गरेका छन्। पहिलो, विगतदेखि आफूसँगै रहेकालाई विरोधी खेमामा जान नदिने। दोस्रो चाँहि विरोधी खेमाका नेतालाई आफूतर्फ आकर्षित गर्ने वा त्यसभित्र समीकरण बन्न नदिने।
000
२०७२ को फागुनमा पार्टी सभापतिको उम्मेदवारी घोषणामा नेपाली कांग्रेसका सभापति देउवाले नतिजा आफ्नो पक्षमा पार्ने गरी अभिव्यक्ति दिएका थिए। कार्यकर्तालाई आश्वस्त पार्ने उनको बोली थियो, ‘पार्टीभित्र दोस्रो दर्जाको नागरिक हुनुपर्दैन।’
१३औं महाधिवेशन केन्द्रित देउवाको उक्त अभिव्यक्तिले उनलाई सभापति बनाउन मद्दत गर्यो। सभापति देउवाको कार्यकाल उत्तरार्धमा आइपुग्दा देउवा कार्यकालको समीक्षा कांग्रेसभित्र सुरु भएको छ। देउवाले पार्टीभित्र दोश्रो दर्जाको नागरिक हुनु नपर्ने धारणा राखेका भए पनि परिणामतः उनले भने मुताबिक हुन सकेन। एक पक्षले देउवालाई गुटकै नेताका रुपमा मात्र अर्थ्याएको छ। आफ्नो पक्षलाई काखी च्याप्ने र आन्तरिक लोकतन्त्रमा कमजोर रहेको आरोप देउवालाई लाग्ने गरेको छ।
जिम्मेवारी, अवसर, निर्णय प्रक्रियामा एकलौटी गरेको उनलाई आरोप लागिरह्यो। गुटविहीन पार्टी बनाउन नसकेका देउवाले गुटकै बलमा १४औं महाधिवेशन केन्द्रित भएर गतिविधि सुरु गरेका छन्। विद्यमान पार्टीभित्रको शक्ति सन्तुलनमा देउवा नै १४औं महाधिवेशनका लागि एक पक्षका बलियो प्रतिस्पर्धी बन्ने सम्भावना बढेको छ। आफू पक्षीय समूहमा ‘निर्विकल्प’ उम्मेदवारका रुपमा देउवा पुनः सभापतिको प्रत्यासी बन्न लागेको देउवा निकटका एक नेताले बताए। आफ्नो खेमालाई व्यवस्थापन गर्न सक्ने क्षमता, विरोधी समूहमा नेतृत्वको किचलो र त्यसकै जगमा पुनः पार्टीको बागडोर सम्हाल्ने मनस्थितिमा देउवा छन्।
विराधी समूहमा कहाँ खेल्छन् देउवा?
वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री सिटौला समूहको गठजोड भएमा देउवालाई पुनः सभापति हुने बाटो रोकिने देउवा पक्षीय नेताहरुको बुझाई छ। त्यसलाई बुझेर नै देउवा उक्त समूहभित्र खेल्ने ‘भगिरथ प्रयत्न’ गर्नेछन्। पौडेलले नेता तथा कार्यकर्तालाई न्याय दिनै नसक्ने संस्थापन पक्षको बुझाइ छ। देउवा पक्षीय नेताले भने, ‘उनी आँट भएका नेता होइनन्। छाति सानो छ।’ उनले पौडेललाई ‘चिकेन हार्ट’ नेताको आरोप लगाए।
कोइराला परिवारभित्र पनि खेल्न सकिने संस्थापन पक्षको आँकलन छ।
कोइराला परिवारमा सांगठनिक पकड र व्यक्तित्व महामन्त्री रहेका डा शशांक कोइरालामा छैन। स्टान्ड लिनसक्ने क्षमता पनि उनमा छैन। कांग्रेसको नेतृत्व शशांकलाई सुम्पियो भने पार्टी झनै ओरालो लाग्ने कांग्रेसीजनकै आशंका छ। सुजाता कोइराला स्वास्थ्यका कारणले राजनीतिक कार्यमा सक्रिय छैनन्। कोइराला परिवारमा सक्रियता बढाएका अर्का नेता डा शेखर कोइरालालाई सभापतिको प्रत्यासी बनाउन इतर समूहका नेता एकमत नहुने देउवा पक्षको बुझाइ छ।
संस्थापन इतर समूहका नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र तेश्रो धारको नेतृत्व गर्दै आएका कृष्णप्रसाद सिटौला पनि सभापतिको आकांक्षी देखिएका छन्। आधा दर्जन बढी नेता सभापतिका प्रत्यासी हुँदा त्यसको व्यवस्थापन गर्न इतर समूहलाई हम्मेहम्मे पर्छ। त्यसबाट पनि लाभ लिने दाउमा देउवा पक्ष देखिन्छन्।
तेश्रो धार भनी चिनिएको सिटौला समूहको हैसियतलाई संस्थापन पक्षले गौण मानेको छ। देउवा पक्षका नेता भन्छन्, ‘गगन थापा र प्रदीप पौडेलको आडमा सिटौलाको राजनीति चलेको छ। उनीहरुको काम च्याँखे थाप्ने मात्रै हो। थापा र पौडेलले छोड्दा सिटौलाको हैसियत रहन्न।’
सुनसरीमा शनिबार बाढीप्रभावित क्षेत्रको निरीक्षण गर्दै देउवा। तस्बिर : रासस
१३औं महाधिवेशनमा ४ केन्द्रीय सदस्य सिटौला पक्षलाई दिने गरी आफ्नो पक्षमा मत पारेका देउवाले सोही रणनीति १४औं महाधिवेशनमा पनि अंगाल्ने देखिएको छ। संसोधित विधानले पदाधिकारीहरु निर्वाचित हुनुपर्ने व्यवस्था गरेकाले पार्टी भित्रका समूह/उप-समूहलाई मिल्नुपर्ने बाध्यात्मक अवस्था छ।
पछिल्लो निर्वाचनपछि देउवाप्रति कार्यकर्ताको वितृष्णा जागेको बुझाइ संस्थापनभित्र पनि छ। देउवाप्रतिको वितृष्णालाई इतरपक्षले ‘क्याच’ गर्नसक्ने बुझाइकै कारण उनीहरुलाई एकै स्थानमा उभिन नदिने रणनीति संस्थापन पक्षले बनाएको छ। देउवा निकट एक नेताले भने, ‘पब्लिक सेन्टिमेन्ट देउवाको समयमा कांग्रेस ध्वस्तै हुने भयो भन्ने छ। केही बुद्धिजीवी र युवा पुस्ताले पनि उहाँलाई रुचाएको छैन।’ परिस्थितिको मूल्यांकन गरिएको उनको भनाई छ।
नेपाली कांग्रेसमा गुटको अवस्था तल्लो तहसम्म सबै समूहको समान रुपमा पुगेको छ। केन्द्रदेखि तल्लो तहसम्म लाभ प्राप्त गर्नेहरुको संख्यामा संस्थापन पक्षका नेता/कार्यकर्ता बढी छन्। संस्थापन पक्षको बलमा राजनीति गरिरहेका तल्लो तहका नेता/कार्यकर्तालाई आफ्नो पक्षबाट बाहिर जान नदिन देउवा लागिरहेको नेताहरु बताउँछन्।
प्रकाशमानलाई देउवा क्याम्पमा ल्याउने रणनीति
विगतमा देउवा खेमामा नै रहेका नेता प्रकाशमान सिंहलाई पुनः आफ्नै समूहमा ल्याउनका लागि देउवाको पहल हुने उनी नजिकका नेताहरु बताउँछन्। सिंह १३औं महाधिवेशन अघिसम्म देउवा पक्षमा नै थिए।
सिंहको आफ्नै गुट सक्रिय छ। गणेशमानका पुत्र तथा जनजातिको मत पनि तान्न सक्ने भएकाले उपसभापतिको पदमा सिंहलाई तान्न देउवा सक्रिय हुने नेताहरुको आंकलन छ। देउवा समूहबाट नै महामन्त्रीका प्रतिस्पर्धी बनेका नेता अर्जुननरसिंह केसीलाई पुनः देउवा क्याम्पमा स्थान दिन नहुनेमा संस्थापन पक्ष अडिग देखिने छ। उनलाई अस्थिर नेताका रुपमा अर्थ्याइएको छ। एक नेताले भने, ‘पञ्चायतमा लागे। कांग्रेसमा प्रवेश गरे। कहिले गिरिजाप्रसादको पछि, कहिले देउवाको पछि। उनलाई १४औं महाधिवेशनमा देउवा समूहले स्वागत गर्दैन।’
आफ्नो पक्षबाट देउवालाई अनुकुल परिस्थिति
सभापतिमा देउवा नै प्रत्यासी बनेपछि उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेदवार बन्ने आँट देखाउँदैनन्। देउवा निकट नेता भन्छन्, ‘निधिले सभापतिमा देउवा नै अघि सरेपछि दाबी गर्न सक्दैनन्। गच्छदारले उपसभापति वा केन्द्रीय सदस्यमा चित्त बुझाई बस्छन्।’
सिंहलाई तान्न सकियो भने दुई उपाध्यक्षमा निधि र सिंहलाई उठाउने देउवाको इच्छा छ। सिंह देउवा खेमामा अनिच्छुक देखिए उपसभापतिमा देउवाबाट दोश्रो प्राथमिकतामा विजय गच्छदार हुनेछन्। पूर्ण बहादुर खड्का, डा प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताहरु देउवाले दिएको स्थानमा चित्त बुझाउने नेतामा पर्छन्।
देउवा पक्षको आन्तरिक तयारी
संस्थापनइतर समूहका नेताहरुको बैठक, भेटघाट तथा तयारी सञ्चारमाध्यममा छरपष्ट भएपनि देउवा पक्षले आफ्ना आन्तरिक बैठक तथा विषयलाई सार्वजनिक नगर्ने नीति लिएको छ। देउवा पक्षका नेताहरु पछिल्लो समय देउवा निवासमा बाक्लै भेट्ने गरेका छन्।
देउवा पक्षका नेताहरु २/३ दिनमा एकपटक ४ बजेपछि देउवा निवासमा निरन्तर भेट्ने गरेको संस्थापन पक्षका नेताले जानकारी गराए। उनी पक्षीय नेताहरुले पार्टीको गतिविधि बारे देउवालाई ब्रिफिङ गर्छन्।
पछिल्लो तीन चरणको जागरण अभियान देउवा पक्षको रुचि अनुसार ल्याइएको छ। संस्थापन पक्षका नेताहरुले विना संगठन जागरण अभियानको सान्दर्भिकता नहुने बताइरहदा जागरण अभियान ल्याइएको छ। पौडेल समूहका एक नेताले भने, ‘पूर्ण बहादुर खड्का, प्रकाशमान महत र विश्वप्रकाश शर्माको तजविजमा जागरण अभियान ल्याइएको हो।’
इतर समूहको दाबीलाई सत्यताको अंश पनि देखिन्छ। प्रतिनिधि छनोट गर्ने क्रममा देउवा पक्षका केन्द्रीय सदस्यहरुलाई प्राथमिकतामा राखियो। केन्द्रिय सदस्यमा पराजित भएका देउवा पक्षका नेतालाई जिल्ला प्रतिनिधि छनोट भए। तर, पौडेल समूहबाट पराजितले अवसर पाएनन्। साथै, संसद सञ्चालनका कारणले संघीय संसदमा रहेका केन्द्रीय सदस्यहरुलाई प्रतिनिधि बनाउन रोकिएको थियो।
संस्थापन पक्षले चलाखीपूर्ण तरिकाले ति स्थानमा आफु पक्षीय नेताहरुलाई खटाउने कार्य गर्यो । देउवाका विश्वासपात्र जिल्ला सभापति रहेका स्थानमा इतर समूहका नेता खटाउनुको भित्री आशयको अन्तर्य अर्कै थियो। विवरण जिल्ला सभापतिबाट मार्फत देउवालाई प्राप्त हुनाले नै अर्को पक्षका नेतालाई खटाउँदा पनि फरक नपर्ने हुनाले उक्त विधि तय गरिएको हो। देउवा पक्षका नेताले भने, ‘वस्तुगत स्थिति हाम्रो पक्षले गरिरहकै हुन्छ। अर्को समूहको नेता पठाउँदा फरक नपर्ने हुनाले त्यसो गरिएको हो।’
दोश्रो चरणको अभियान अघि भ्रातृ संस्था र तल्लो संगठनहरु गठन गर्ने बताइपनि संस्थापन पक्ष त्यसको लागि तयार देखिएको छैन। तदर्थ समिति आफू अनुकुल बनाउन प्रयासरत संस्थापन पक्ष अन्तिम समयमा निर्वाचित कार्यसमितिको पक्षमा देखिएको छ। तर,निर्वाचन गराउने पक्षमा देउवा समूह नदेखिएको संस्थापन इतरका एक केन्द्रीय सदस्य बताउँछन्। देउवा पक्षप्रति आंशका गर्दै उनी भन्छन्, ‘निर्वाचित संरचना त बनाउन खोजेकै हो। समय भएन भन्दै पन्छिनुहुन्छ।’ पार्टी भित्रको अस्थिरतामा देउवा पक्ष रमाउने प्रवृत्ति रहेको उनको आरोप छ।
संस्थापन पक्षले जागरण अभियानलाई स्थानीय तहमा आफ्नो शक्ति परीक्षण गर्ने इतर समूहको दाबी छ।
महाधिवेशनको अवधि एक वर्ष बढ्ने बताएको संस्थापन पक्षले छिटोमा २०७७ को चैत्रमा वा ढिलोमा २०७८ को मंसिरमा महाधिवेशन गर्ने आन्तरिक तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।