काठमाडौं– संसद्मा समय सीमाको महत्वमाथि कुनै उदाहरण वा उक्ति जोडिरहनु पर्दैन। सबैले अनुभूत गरेको कुरा हो। त्यसैले निश्चित विषयमा तोकिएको समयमै आफ्ना भनाइ राखिसक्नुपर्ने अभ्यास संसदमा छ। छलफलमा बढी भन्दा बढी सांसदहरु सहभागी हुन सकुन् भनेर सभामुखले आवश्यक समय निर्धारण गरिदिएका हुन्छन्।
निर्धारित समयभित्र आफ्ना भनाइ राखिसक्नुपर्ने कर्तव्य सांसदहरुकै हुन्छ। यदि समयसीमा नाघ्यो भने माइक अफ हुने प्रणाली छ।
तर, संसदमा सांसदहरु बोल्दा समयको प्रवाह नै गर्दैनन्। निर्धारित समयभित्र भनाइ राखिसक्नुपर्ने जिम्मेवारी पूरा नगरेका उनीहरु माइक काटिएपनि बोलिरहन्छन्। उनीहरुलाई जानकारी हुन्छ, माइक काटिएपछिको बोली न रेकर्ड हुन्छ, न अरुले सुन्छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा केही सांसदहरुले समयको ख्याल गरेनन्। तीमध्ये तीन जना सांसद राजकिशोर यादव, उमाशंकर अग्रहरिया र राधा ज्ञवालीले त माइक काटिएको एक मिनेट पछिसम्म पनि बोलिरहे। उनीहरुले खेर फालेको समयलाई मात्रै जोड्ने हो भनेपनि एकजना अर्क सांसदले बोलिसक्थे।
बुधबारको संसदमा बोल्ने दोस्रो सांसद हुन पुगे, राजकिशोर यादव। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राखेको सार्वजनिक महत्वको प्रस्तावमा समर्थन गर्न पुगेका उनले एक मिनेट २० सेकेन्ड समय माइक काटिँदा पनि बोलिरहे। दुईपल्ट सभामुख कृष्णबहादुर महराले समय सकिएको जनाउ दिए। तर, उनले वास्ता गरेनन्। आफ्ना भनाइ टुंग्याएर मात्रै रोष्ट्रमबाट फर्किए।
उनीबाट पाठ सिकेनन् सांसद उमाशंकर अग्रहरियाले। माइक काटिएपनि आफ्ना भनाइ नसकिएसम्म बोलिरहनुपर्ने गलत अभ्यास सिके।
त्यसपछि समय सकिए पनि लामो समय बोलिरहनेमा परिन् सांसद राधा ज्ञवाली। उनलाई तोकिएको समय सकियो, माइक काटियो। उनी बोलिरहिन्। सभामुखको आसनमा रहेकी रेखा शर्मा समय सकिएको जानकारी गराइन्। अहँ, उनले बोल्न छाडिनन्। उनीतर्फ हेर्दै सभामुखको आसनबाट शर्माले कटाक्षको मुस्कान फ्याँकिन्। सांसद ज्ञवालीले बोल्न छाडिनन्।
आफूलाई नटेरेको जस्तो महसुस भयो होला सभामुखको आसनमा रहेकी सांसद शर्मालाई। सांसद ज्ञवालीको जिद्दीपनसँग असहमतिको हेराइ हेरिन्। उनको माइक काटिएको एक मिनेट २७ सेकेन्डपछि रोष्ट्रम छाडिन्।
'सेकेन्ड-सेकेन्डको महत्व हुन्छ' भनिने जमानामा मिनेटको महत्व त झन् बढी होला। त्यही भएरै माइक काट्ने व्यवस्था गरिएको होला।
सांसदहरुले यति त महसुस गरिदिए हुन्थ्यो!
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।