एजेन्सी- शीतकालीन ओलम्पिकमा उत्तर कोरियाको सहभागिताको विषयमा दुई कोरिया फेरि छलफलमा जुटेका छन्। सोमबारको छलफल उत्तर कोरियाबाट दक्षिण कोरियामा जाने सांस्कृतिक समूहको सहभागिताबारे केन्द्रित रहने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जानाएका छन्।
प्रतियोगिताका अन्य पाटोमा भने दुवै पक्षले आगामी बुधबार छुट्टाछुट्टै बैठक गर्ने जनाइएको छ। दुवै कोरियाको सीमावर्ती गाउँ पानमुनजोम नगरमा सुरु भएको बैठकमा दुवै देशका तर्फबाट चार/चार तल्ला तहका नेताको सहभागिता छ।
यसअघि यही जनवरी ९ मा दुवै कोरियाको उच्चस्तरीय बैठक बसेको थियो। उक्त बैठकमा उत्तर कोरियाले दक्षिण कोरियामा फेब्रुअरी महिनामा आयोजना हुने शीतकालीन ओलम्पिक खेलमा आफ्नो सहभगिता रहने बताएको थियो। उत्तर कोरियाले फेब्रुअरीमा हुने शीतकालीन ओलिम्पिकमा आफ्ना खेलाडी र प्रतिनिधि पठाउने जनाएकाले त्यसबारे थप छलफल गर्न आजको बैठक बसेको बताइएको छ।
बैठकमा खेलाडी तथा कलाकारहरुको संख्या, उनीहरुको यात्रा मार्ग तथा खेल्ने सूचीबारे पनि छलफल गर्ने दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। उत्तर कोरियातर्फबाट सहभागी हुने खेलकुद तथा कलाकारको टोलीमा महिलाहरु सम्मिलित चर्चित पप ब्यान्ड मोरानबोङकी प्रमुख ह्योन सोङ वुलको सहभागिताबारे पनि छलफल हुनेछ।
ओलम्पिक कमिटीसँग त्रिपक्षीय छलफल हुने
आगामी शनिबार उत्तर कोरियाको सहभागिताबारे दुवै देशका प्रतिनिधि मण्डलले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)सँग स्विजरल्यान्डमा गई छलफल गर्ने कार्यक्रम छ।
प्रतियोगितामा उत्तर कोरियाका तर्फबाट हालसम्म २ जना एथलेटहरुको मात्रै सहभागिता सुनिश्चित भएको छ। दक्षिण कोरियाले भने प्रतियोगिताको उद्घाटन सत्रमा हुने मार्च पासमा उत्तरका दुवै खेलाडीलाई आफ्नो टोलीमै एकसाथ सहभागी हुन प्रस्ताव गरेको छ। उक्त प्रस्तावलाई उत्तरले सकारात्मक भनी टिप्पणी गरेको छ।
यसअघि उत्तर कोरियाले दक्षिण कोरियामा भएको बाहेकका केही ओलम्पिकमा सहभागिता जनाउँदै आएको छ। सियोलमा सन् १९८८ मा भएको ओलम्पिक उत्तर कोरियाले बहिष्कार गरेको थियो।
शीतकालिन ओलम्पिक दक्षिण कोरियाको सियोलमा आगामी फेब्रुअरी ९ देखि २५ सम्म हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।