उदयपुर- उदयपुरको कटारी र सिन्धुलीको दुधौली बीचमा पर्ने कमला नदीको त्रिवेणीधाममा आजबाट १५ दिने माघे संक्रान्ति मेला सुरु भएको छ।
आज बिहानैदेखि त्रिवेणीमा विभिन्न स्थानबाट आएका हजारौं भक्तजनले त्रिवेणीधाममा मकर नुहाएका र अन्य धेरै भक्तजन आउने क्रम जारी रहेको त्रिवेणी मेला व्यवस्थापन समितिका सदस्य केदार धमलाले बताए।
त्रिवेणीधाममा दर्शन गर्न आउने भक्तजनको भीड बढ्दै गए पनि यस पटक धार्मिक मेला भने उदयपुरको कटारीस्थित कमलामाईको त्रिवेणीमा र यता सिन्धुलीको दुधौली नगरपालिकाको मकुर खोलामा समेत गरेर दुई स्थानमा त्रिवेणी मेला सञ्चालन भएको छ।
कमलामाईस्थित त्रिवेणीधामको दर्शन र कमलेश्वर महादेवको दर्शन तथा महालक्ष्मीको समेत दर्शन र पूजा पनि सुरु भएको अर्का सदस्य नरबहादुर तामाङले जानकारी दिए। मेला व्यवस्थापनमा विभिन्न होटल तथा चर्पीको निर्माणसहित सुरक्षा व्यवस्थासमेत गरिएको छ।
१५ दिनभित्र झन्डै पाँच लाखभन्दा बढी भक्तजन मेला भर्न आउने सो समितिको अनुमान छ। प्रत्येक वर्ष त्रिवेणी मेलामा सहभागी हुन तथा कमलामाईको दर्शन गर्न उदयपुर, सिन्धुलीका साथै धनुषा, महोत्तरी, पर्सा, खोटाङ, ओखलढुंगा, लगायत जिल्लाबाट ठूलो संख्यामा भक्तजन आउने गरेका छन्।
मेलामा स्थानीय घरेलु सामग्रीको बिक्री तथा तथा प्रदर्शनी, ओखलढुंगा तथा सोलुखुम्बुको राडी, पाखी र सोलुको भोटेघोडाको प्रदर्शन तथा किनबेच मुख्य आकर्षण बनेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।