काठमाडौं- नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे आन्तरिक गृहकार्य थालेको छ।
पार्टीका शीर्ष नेताले माघ २४ मा हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, अन्य दलसँगको सहकार्यलगायत विषयमा प्रारम्भिक छलफल गरेको पार्टी कार्यालयले जनाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुबीच राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामबारेमा छलफल भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आगामी बैठकबाट प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने तयारी गरेको पृष्ठभूमिमा आज सो छलफल भएको बताइएको छ।
यसअघि प्रधानमन्त्री देउवाले विभिन्न राजनीतिक दलसँग यसबारेमा छलफल गरी सहमतिका लागि प्रयास गरेका थिए। राष्ट्रियसभा निर्वाचनका लागि तत्काल प्रदेश प्रमुख नियुक्त हुनुपर्ने कानुनी बाध्यता छ।
राष्ट्रियसभाका लागि मतदाता हुने प्रदेशसभा सदस्यले निर्वाचन तालिकाअनुसार त्यसअघि नै प्रदेश प्रमुखबाट सपथ लिइसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।
कांग्रेसले राष्ट्रियसभा निर्वाचनको तयारीसँगै केन्द्रीय समिति बैठक बोलाउने तयारी समेत गरिरहेको छ। हालै भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार परिणाम नआएपछि समीक्षा गर्न भन्दै पार्टीमा केन्द्रीय समिति बैठक बोलाउन माग भइरहेको छ।
छलफलमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायत सहभागी थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।