नयाँ दिल्ली- भारतको सर्वोच्च अदालतका न्यायाधीशहरुबीचको विवाद अन्ततिर पुगेको छ। भारतीय महान्यायाधीवक्ताले आइतबार बार काउन्सिलका पदाधिकारीसँग भेटेपछि विवाद अन्त्यतर्फ पुगेको दाबी गरेका हुन्।
भारतीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशको विरोध गर्दै बहालमा रहेका न्यायाधीशले पत्रकार सम्मेलन गर्दै सर्वोेच्च अदालतको नेतृत्वका कारण न्यायालय र लोकतन्त्र संकटमा रहेको आरोप लगाएका थिए।
अटर्नीजनरल वेणुगोपालले भने, ‘न्यायाधीशहरुको बीचमा देखिएको विवाद समाधान भएको छ, वहाँहरु अब इजलाशमा फर्कंदै हुनुहुन्छ।’ वेणुगोपाले के र कसरी विवाद समाधान हुँदैछ भन्ने बारे कुनै कुरा बताउन चाहेनन्।
बिबिस हिन्दीका अनुसार बार काउन्सिलले प्रधानन्यायाधीश र सर्वोच्चका अन्य न्यायाधीशबीच छलफल गरी समस्या समाधानका लागि पहल गरेको थियो। त्यसपछि इजलाशमा फर्किन प्रधानन्यायाधीशको विरोधमा उत्रिएका चारै जना न्यायाधीश सहमत भएको बुझिएको छ।
गत शुक्रबार भावी प्रधानन्यायाधीशको रोलक्रममा रहेका २ जना सहित ४ जना वरिष्ठतम् न्यायाधीशले प्रधानन्यायाधीश दिपक मिश्रमाथि मेडिकल कलेजदेखि राजनीतिक बन्दीका मुद्दा आफ्नै इजलाशमा राखेर सुनुवाई गरेको आरोप लगाउँदै पत्रकार सम्मेलन गरेर विरोध जनाएका थिए।
पत्रकार सम्मेलन गर्नेमा न्यायाधीशहरू जे चेलमेश्वर, रञ्जन गोगोई, मदन लोकुर र कुरियन जोसेफ छन्।
उनीहरुले प्रधानन्यायाधीशले मनोमानी गर्दै हिँडेको र न्यायाधीशबीच भेदभाव गरेको आरोप लगाएका थिए। आफूहरुले न्यायालयभित्रै रहेर त्यसको विरोध गरे पनि उक्त प्रयास असफल भएपछि वाध्य भएर पत्रकार सम्मेलन गर्नु परेको उनीहरुको तर्क थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।