घुसकाण्डमा किन फस्छन् इन्जिनियर?

रामराज शर्मा | २०७६ श्रावण ६ सोमबार | Monday, July 22, 2019 ११:५५:०० मा प्रकाशित

साउन ३ र ४ गते 'इन्जिनियर्स डे' भव्यताका साथ सम्पन्न भएको छ। काठमाडौंमा सम्पूर्ण इन्जिनियरको क्षमता वृद्धि, पेसागत हकहित र व्यावसायिकताका बारेमा गहन छलफल भइरहेको बेला देशका विभिन्न ठाउँबाट घुस रकमसहित इन्जिनियरहरु धमाधम अख्तियार र प्रहरीको फन्दामा परिरहेका समाचार आइरहेका छन्। 'इन्जिनियर्स डे'को समापन भएलगत्तै धेरै राष्ट्रिय पत्रिका र अनलाइनमा 'ढिलो आयो कडा आयो' शैलीमा 'इन्जिनियरले भरियो अख्तियारको हिरासत' भन्ने समाचार भाइरल नै बने। उता इन्जिनियर्स डेको कार्यक्रममा भने पुराना र अनुभवी इन्जिनियरहरु अख्तियारले गर्दा काम गर्न नसकेको र झुट्टा मुद्दामा फसाइएको भन्दै बहस गरिरहेका थिए।

'पैसा देखेपछि महादेवका पनि तीन नेत्र' भन्ने उखानै छ। महादेवका तीन नेत्र हुन्छन् भने इन्जिनियर त साधारण मान्छे। हाम्रो कर्मचारीतन्त्र नै घुसखोरीमा चुर्लुम्म डुबेको छ। दैनिक सयौं ठूलासाना घुसकाण्ड भइरहेका हुन्छन्। तर निकै थोरै मात्र प्रहरी र अख्तियारको फन्दामा परेका देखिन्छन्। 

पैसाको पछि लागेर आफ्नो र घर परिवारको मात्र होइन, सम्पूर्ण पेसाकै बदनाम गर्नेलाई समाजबाट बहिस्कार गर्नुपर्ने बेला आएको छ। इन्जिनियर्स एसोसिएसनले अनैतिक काम गर्नेलाई कडा कारबाही गर्न सम्बन्धित निकायलाई सहयोग गर्नुपर्दछ। 

घुसको लेनदेन एकपक्षीय रूपमा हुने होइन पनि होइन। दुई पक्षबीच सहमति भएपछि मात्र यस्तो काम हुने हो। एक पक्षले विश्वास तोडिदिँदा वा अर्को पक्षलाई फसाउने उद्देश्य राखेर गरेका क्रियाकलापले गर्दा प्रहरी वा अख्तियारको फन्दामा पुग्ने हुन्। 

यो मामलामा इन्जिनियर अन्य कर्मचारीभन्दा कम अनुभवी देखियो। अर्थात् धेरै फस्न थाले। लामो समयदेखि के पनि देखिएको छ भने प्रशासनिक क्षेत्रका कर्मचारी घुससहित अख्तियारले पक्राउ पर्दा पनि पछि निर्दोष भन्दै अदालतबाट सफाइ पाएका थुप्रै उदाहरण छन् भने अधिकांश इन्जिनियरले भने मुद्दा हारेका छन्।  

समाजमा इन्जिनियर घुस्याहा र जँड्याहा हुन्छन् भन्ने छाप परेको लामै समय भयो। यो छाप त्यसै परेको पनि होइन। हाम्रा केही (सबै होइन) अग्रजले निर्माण कार्यको निरीक्षणमा जाँदा निर्माण व्यवसायीको आग्रहमा साइटमा नपुगी बाटोकै भट्टीमा समय बिताएर फर्किने, कामको गुणस्तरमा ध्यान नदिने, बिल बनाउदा परिणाममा तलमाथि पार्ने काम नगरेका पनि होइनन्। अनि सोही कामको फरफारक गर्दा निश्चित प्रतिशत 'पिसी' लिने प्रचलन पनि चलेकै हो। यो एउटा परम्परा जस्तो बन्दै आएको छ।  यसमा निर्माण व्यवसायी र इन्जिनियर दुवैको दोष छ। 

अधिकांश इन्जिनियरका परिवार समाजमा छुट्टै रवाफका साथ प्रस्तुत हुने थाले। समाजले इन्जिनियर र उसका परिवारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँदै गयो। त्यसैले विलासिता पूरा गर्ने माध्यम बनेको छ, घुस।

अर्कोतिर घुस नदिने र ठिक काम गर्ने निर्माण व्यवसायीको बिल पास नगरिदिँदा उनीहरु बाध्यतामा पनि परेको देखिन्छ। अहिले पनि इन्जिनियरलाई प्रलोभन देखाएर अनैतिक प्रलोभन पार्ने क्रम चलिरहेकै देखिन्छ। यी सबै प्रलोभनका आश्वासन नकारिदिने हो भने यस्ता काण्ड हुने नै थिएनन्। केही इन्जिनियर 'प्रोफेसनल इथिक्स'मा अडिग नरहँदा सम्पूर्ण पेसा नै बदनाम भएको छ।

यसरी पेसामा आँच आउनका पनि कारण छन्। अधिकांश इन्जिनियरका परिवार समाजमा छुट्टै रवाफका साथ प्रस्तुत हुने थाले। समाजले इन्जिनियर र उसका परिवारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँदै गयो। श्रीमतीले महँगा गहना र पोसाक लगाउनुपर्ने, छोराछोरीलाई महँगा स्कुल पढाउनुपर्ने, ठूला सहरमा घडेरी र घर जोडनुपर्ने लगायतका विषय काविल इन्जिनियरका विशेषता बनाइएको छ। यही मानसिकता नयाँ इन्जिनियरमा पर्न गएको छ। सत्य हो, सरकारी तलबले  यी सबै कुरा पूरा गर्न सकिन्न। त्यसैले विलासिता पूरा गर्ने माध्यम बनेको छ, घुस।

अर्कातर्फ महँगो शुल्क तिरेर निजी कलेजमा पढनेहरुको जमात बढ्दो छ। जागिर सुरु गरिसकेपछि खर्च उपर गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर परिवारको आवश्यकता पूरा गर्नुपर्ने अवस्था। प्रायजसो आमाबुबामा छोरो इन्जिनियर बनेर देश निर्माणमा केही सहयोग गर्ला भन्ने भावनाभन्दा पनि पैसा कमाउँछ भन्ने मनोदशा मात्र व्याप्त छ। चाहे सन्तानले सत्कर्म गरोस् वा भ्रष्टाचार नै किन नगरोस्; वा घुस नै किन नखाओस्, पैसा मात्र जमाओस् भन्ने भावना छ। सोही मनोदशा पछ्याउन युवा इन्जिनियर पनि बाध्य छन्, जानाजान घुस खान। उनीहरूलाई मानसिक दबाब पनि छ।

सम्पूर्ण कर्मचारी (इन्जिनियर समेत) मा के सोचाइ छ भने घुस लेनादेना गरिहालौं, पक्राउ परेमा कुनै राजनीतिक नेता वा पार्टीको फेरो समाएपछि शुद्ध भइहालिन्छ। हाम्रो राजनीतिक नेतृत्व यति भ्रष्ट छ कि, घुस खाएका कर्मचारीलाई पनि जोगाउँछन्।

सम्पूर्ण कर्मचारी (इन्जिनियर समेत) मा के सोचाइ छ भने घुस लेनादेना गरिहालौं, पक्राउ परेमा कुनै राजनीतिक नेता वा पार्टीको फेरो समाएपछि शुद्ध भइहालिन्छ। हाम्रो राजनीतिक नेतृत्व यति भ्रष्ट छ कि, घुस खाएका कर्मचारीलाई पनि जोगाउँछन्। अदालतमा त्यही अवस्था छ। यस्तो अवस्थामा कर्मचारीतन्त्रमा सुधार ल्याउन निकै मुस्किल छ। आफ्नो मातहतका कर्मचारीलाई पूर्ण व्यावसायिक रुपमा काम गर्न लगाउने र प्रोफेसनल इथिक्सभित्र रहन बाध्य पार्नुपर्ने उपल्लो तहका कर्मचारीलाई 'पिसी'को निश्चित प्रतिशत रकम पुग्ने गरेको त छर्लंगै छ। यस्तो कर्मचारी र नेतृत्वबाट के आशा गर्ने?

आफ्नै अनुभव
२०५१ सालमा जुनियर इन्जिनियर (ओभरसियर) को रुपमा एक पहाडी जिल्लाको खानेपानी कार्यालयमा मैले जागिर सुरु गरेको थिएँ। तलब २ हजार ९ सय ८० थियो जस्तो लाग्छ। जागिर गरेको तेस्रो दिनमै एक सहकर्मीबाट ५ हजार नगद प्राप्त भयो। उनले भने, 'पाइप आपूर्ति गर्ने व्यवसायीबाट प्राप्त 'पिसी' तपाईंको भागमा यति पर्‍यो।' तलबभन्दा निकै धेरै रकम अफिस सुरु गरेको ३ दिनमै केही काम नगरी प्राप्त हुँदा म अचम्मित बनेँ। 

केही सातापछि साइट निरीक्षणमा जिल्लाका केही गाउँ जानुपर्ने भयो। ठेकेदारसँगै साइट जानुपर्ने हुँदा बाटोमै उनीहरूले अलमल्याएर साइटमै नपुग्ने अवस्था हुन्थ्यो भने धेरै लोकल कुखुरा सहिद बन्थे। मेरो एक्लो प्रयासमा मैले केही गर्न सक्ने अवस्था पनि थिएन। मुख्य ठेक्का गर्दा नै बाँकी रहेको रकम कोटेसनमा काम दिएर सकाउने चलन थियो। सोबापत बेलाबेलामा 'पिसी' प्राप्त हुन्थ्यो । इन्जिनियरले ८० प्रतिशत आफू राखेर ओभरसियर र लेखापाललाई अलिअलि दिन्थे। 

यो परिवेशमा फिट हुन्न भनेर मैले ८ महिनाजति काम गरेपछि राजीनामा गरेर हिँडेको थिएँ। मलाई के अनुभव भयो भने ओभरसियर पढाइमा प्रोफेसनल इथिक्सका कुरा नहुने गर्दा युवा जानीनजानी अनैतिक क्रियाकलापमा फस्ने गर्दछन्।

उपभोक्ता समितिले आफ्नै गाउँठाउँको कामको पैसा झ्वाम पार्न निकै आकर्षक प्रस्ताव ल्याउँथे। अन्तत: यो परिवेशमा फिट हुन्न भनेर मैले ८ महिनाजति काम गरेपछि राजीनामा गरेर हिँडेको थिएँ। मलाई के अनुभव भयो भने ओभरसियर पढाइमा प्रोफेसनल इथिक्सका कुरा नहुने गर्दा युवा जानीनजानी अनैतिक क्रियाकलापमा फस्ने गर्दछन्। बिई (इन्जिनियरिङ) मा प्रोफेसनल इथिक्सको केही पढाइ त हुन्छ तर न कलेजले, न विद्यार्थीले यो विषयलाई गम्भीरतापूर्वक लिन्छन्। अर्थात्, व्यावसायिक इन्जिनियर उत्पादन गर्ने हाम्रो आधार नै निकै कमजोर छ।

अन्त्यमा,
पैसा सबैलाई आवश्यक छ। तर पैसाको पछि लागेर आफ्नो र घर परिवारको मात्र होइन, सम्पूर्ण पेसाकै बदनाम गर्नेलाई समाजबाट बहिस्कार गर्नुपर्ने बेला आएको छ। इन्जिनियर्स एसोसिएसनले सम्पूर्ण सदस्यलाई पेसाप्रति इमानदार बन्न प्रेरित गर्ने मात्र होइन, अनैतिक काम गर्नेलाई कडा कारबाही गर्न सम्बन्धित निकायलाई सहयोग गर्नुपर्दछ। 

इन्जिनियरिङ काउन्सिलले त्यस्ता इन्जिनियरलाई आजीवन पेसागत काम गर्न नदिने गरी कारबाही गर्नुपर्दछ। यही समाजमा कैयौं इन्जिनियरले आफ्ना परिवार राम्रोसँग पाल्न सकेका छैनन्। तर पनि पेसागत मर्यादाबाट विचलित भएका छैनन्। त्यस्ता इन्जिनियरले पनि समाजका केही घुसखोरका कारण अपहेलित हुनुपरेको छ।