साउनमा मेहन्दीको महत्व, घरमै कसरी तयार गर्ने?

सुषमा महरा | २०७६ श्रावण १ बुधबार | Wednesday, July 17, 2019 ०९:४५:०० मा प्रकाशित

साउन महिना हिन्दु धर्मावलम्बीका लागि विशेष मानिन्छ। त्यसमाथि यो महिना रङका हिसाबमा पनि अन्य महिनाभन्दा विशेष छ। कारण हो यस महिनाभर प्रयोगमा आउने पहिरन तथा सामाग्री र यीनमा प्रयोग हुने रातो, हरियो र पहेँलो रङ।

महिलाहरु रातो, हरियो र पहेँलो रङका सारी, चुरा, पोतेमा सजिएर आफूलाई नवदुलही जस्तै‍गरी शृंगार गर्दछन्। यसबाहेक प्रत्येक सोमबार शिवको पूजाआराधना गरी व्रत बस्ने गर्दछन्। व्रतसँग जोडिएको अर्को पाटो हो मेहन्दी लगाउनु।

पूजा, आराधना गर्दा हात-खुट्टामा मेहन्दी लगाएर गर्दा शुद्ध मानिनुका साथै शुभ हुने विश्वास गरिन्छ। त्यसकारण यस महिनामा महिलाहरु मेहन्दी लगाउँछन्। मेहन्दी लगाएपछि बस्ने रङको कलात्मक पक्ष पनि उत्तिकै विशेष छ।

केही वर्षदेखि मेहन्दी लगाउन धेरै ब्युटीपार्लरदेखि सडकसम्म पनि मेहन्दी लगाउने महिलाको भीड देखिन्छ। तर, यसको ऐतिहासिक पक्षलाई केलाउने हो भने मेहन्दीको प्रयोग ५ हजार वर्ष अघिदेखि सुरू भएको मानिन्छ।

एउटा संस्कारको रुपमा विकास भएको मेहन्दी लगाउने चलन अहिले फेसनका रुपमा लगाउने संस्कृतिको विकास भएको छ। जे भए पनि मेहन्दीले मानिसको स्वास्थ्यमा पनि राम्रो फाइदा पुर्‍याउने चिकित्सकहरु नै बताउँछन्।

'मेहन्दी' शब्द नेपालीहरूबीच परिचित छ। साउन महिनामा मेहन्दीको निकै चर्चा हुन्छ। साउन महिनालाई 'मेहन्दीको मौसम' पनि भनिन्छ।

साउन महिना लागेपछि घर-घरमा मेहन्दी लगाइन्छ। मेहन्दी, जसलाई 'हिना' पनि भनिन्छ। दक्षिण एसियामा शरीरका भागलाई सजाउन प्राचीन कालदेखि प्रयोग गरिँदै आएको वनस्पतीय सामग्री हो। यसलाई हात, खुट्टा आदिमा लगाइन्छ। सन् १९९० को दशकदेखि पश्चिमा देशहरूमा पनि मेहन्दी लगाउन थालिएको छ।

नारीको सोह्रशृंगार मेहन्दीबीना अपूरो हुन्छ। यसलाई हात एवं केशको सौन्दर्यका लागि प्रयोगमा ल्याइन्छ। मेहन्दी विभिन्न चाडपर्व, उत्सव एवं  विशेष समयमा बढी प्रयोग हुन्छ।

मेहन्दी यसरी तयार गर्न सकिन्छः

  • मेहन्दी लगाउनको लागि हिनाका पातहरूलाई सुकाएर पिसेर धूलो बनाउने।

  • धूलोलाई मलमलको कपडामा दुई/तीन पटक छान्ने।

  • कागतीको रसमा १० थोपा नीलगिरिको तेल हालेर मेहन्दीको धूलो राखी भिजाउने।

  • पानीमा इमली र चियाको पात हाली उमाल्ने। त्यसपछि पानी छानेर आवश्यक मेहन्दीको धूलो हाली भिजाउने।

  • गिलो मेहन्दीलाई प्लास्टिकको कागजको कोण बनाई आफूले चाहेको बुट्टा बनाएर प्रयोग गर्ने।

  • बुट्टा सुक्न थालेपछि एक प्याला कागतीको रस र चिनीको मिश्रण तयार गर्ने। हातखुट्टामा लागेको मेहन्दी सुकेर नखसोस् भनेर यो मिश्रण पटक-पटक मेहन्दीमा लगाउनुपर्छ।

  • लगाएको मेहन्दी चार/पाँच घन्टापछि निकाल्नुपर्छ। मेहन्दी निकालेपछि १२ देखि १४ घन्टासम्म त्यो भागमा पानी पार्नु हुँदैन। यसो गर्दा मेहन्दीको रंग गाढा हुन्छ।

  • मेहन्दी निकालेपछि तोरीको तेल लगाउनुपर्छ।

  • कराही वा तावामा ४ वटा ल्वाङका चूर्ण बनाएर हातमा घस्ने र त्यसपछि हातलाई आगोको रापमा सेक्ने।

मेहन्दी लगाउँदा के नगर्ने?

मेहन्दी लगाउँदा गाढा रङ बस्यो भने आफ्नो नजिकको मान्छेले धेरै माया गर्छ भन्ने पुरानो भनाइ छ।

त्यसै अनुरूप कतिपय महिला दिदीबहिनीहरू मेहन्दीको रंग गाढा बनाउन मेहन्दीमा पेट्रोल, डिजेल, मट्टितेल तथा विभिन्न किसिमका एसिड मिसाउँछन्। जुन हाम्रो शरीरका लागि हानिकारक हुन्छन्।

यस्ता रासायनिक पदार्थले छालामा एलर्जी हुने, हात पोल्नेजस्ता विभिन्न किसिमका समस्या देखा पर्नसक्छन्। त्यसैले सकेसम्म यस्ता रासायनिक पदार्थरहित प्राकृतिक मेहन्दी प्रयोग गर्नुपर्छ।

तर, केही व्यक्तिलाई भने मेहन्दी हानिकारक हुनसक्छ। त्यसैले यसको प्रयोग गर्नुभन्दा पहिले शरीरको कुनै पनि भागमा एक थोपा लगाई परीक्षण गर्नुपर्छ। चिलाउने, फोका आउने भएमा त्यस्तो छलामा मेहन्दी प्रयोग गर्न हुदैँन।

मेहन्दीका यी डिजाइन चर्चित

आजकल मेहन्दीका विभिन्न डिजाइन चर्चित छन्। जस्तैः अरेविक मेहन्दी, यासमिन अरेविक, कोहिनुर अरेविक, लाजवाब अरेविक, खुबसुरत अरेविक, फेन्सी अरेविक, निखार अरेविक, आसिकी अरेविक, इन्डो अरेविक, शैली अरेविक, सार्ली अरेविक, रुचिरा अरेविक, सानिया अरेविक, दुलहन मेहन्दी, काश्मिरी मेहन्दी, गोल्डेन मेहन्दी, मेटालिका मेहन्दी, फेब्रिक मेहन्दी, ब्ल्याक मेहन्दी, मीनाकारी मेहन्दी, राजस्थानी मेहन्दी आदि।

देश र भेषअनुसार बुट्टाको नाम र मेहन्दीको नाम पनि हामी फरक-फरक पाउन सक्छौं।

(महरा फेसियल हाउसकी सञ्चालक तथा वरिष्ठ सौन्दर्यकर्मी हुन्।)