उनी रोइन्।
मैले जे भोगेकी छु। जे सहेकी छु। मलाई मात्र थाहा छ। यति भन्दै उनी रोइन्। उनी किन रोइन्?
उनी रोइन् किनकी उहाँलाई उनीले अरुसँग बोलेकै मनपर्दैन रे। उनी रोइन् किनकी आज एकैछिन् अरुसँग बोलेको उहाँले देखि त हाल्नुभो। उनी रोइन् किनकी उहाँ साथ दिने साथी होइन, कमजोरी केलाउने काजी होइबक्सदो रहेछ। दण्ड दिने हुकुम होइबक्सदो रहेछ। उनी रोइन्, किनकी विदेशी विश्वविद्यालयमा पढेर आएका उहाँका साथीहरु बीच उनको वौद्धिक स्तर नपुग्दो रहेछ।
उनको नपुगेको बौद्धिकस्तर माथि उहाँले बारम्बार व्यंग्य गर्नुहुँदो रहेछ। उनी रोइन्, किनकी उनी मोफसलमा जन्मिएकी हुन्। सहरको ढंग उनले जानिनछिन्। समयमै सिक्न सकिनछिन्। सिक्दा-सिक्दै त्रुटिहरु गरिछन्। उनी रोइन्, किनकी तरकारीमा आज नुन कम भएछ। उनी रोइन्, किनकी उनीसँग भान्साकोठा छ। मुख धुन पानी छ। आँसु पुछ्न टालो छ।
उनी रोइन्, किनकी आफ्नो देवर, आफ्नो नन्द, आफ्नो अमाजुहरुसँग उनको बोली गुलियो भएनछ। सासु-ससुरालाई ढोग्न बिर्सिएछिन्। उनी रोइन्, किनकी उनी दाइजो कम ल्याउने बुहारी परिछन्। उनी रोइन्, किनकी उनी असल आमा हुनसक्थिन्, भइनन्। उनी रोइन्, किनकी उनी असल ठूलीआमा हुन्। सानिमा हुन्। आमा होइनन्। बाँझी हुन्।
उनी रोइन्, किनकी अलग्गै भविष्य उनको पनि हुनसक्थ्यो। उनी रोइन्, किनकी उनीसँग पनि शैक्षिक योग्यताका प्रमाणपत्रहरु छन्। गाउन सक्ने गला छ। नाँच्न सक्ने कम्मर छ। उनी रोइन्, किनकी पलंगमा एउटा छेउ छ। सुँक्क आवाजलाई दबाउन सक्ने सिरानी छ। आफ्नै श्रीमानबाट बलात्कृत भएको अनुभव छ।
उनी रोइन्, आफ्नो प्रेमलाई सम्झिएर। उनी जस्तै कसैको सौभाग्य सम्झिएर। आफ्नो दुर्भाग्य सम्झिएर। गरिब आमाबुवाको सामाजिक प्रतिष्ठा सम्झिएर। उनी रोइन्, आज उनको नानीलाई सानो चोट लाग्यो। त्यही चोटको बहानामा उनलाई ठूलो चोट लाग्यो। उनी रोइन्, किनकी उनलाई थप्पड थाहा छ। लात थाहा छ। मुक्का थाहा छ। काट्दा नदुख्ने, लुछ्दा दुख्ने कपाल थाहा छ।
उनी रोइन्, किनकी उनी भीडमा पनि एक्लै छिन्। उनी रोइन्, किनकी उनीसँग सडकमा मागेर खानुपर्ने दिन आउला भन्ने धम्कीले जरा गाडेको मन पनि त छ। उनी रोइन् किनकी सहनशीलताको बाँध भत्किएको छैन। आँसु अझै बाँकी छ।
उनी रोइन् किनकी उनले आज न्याय माग्ने हिम्मत गरिन्। उनी रोइन्, किनकी न्याय माग्दा, व्यथा बुझ्ने न्यायमूर्ति पाइनन्। उनी रोइन्, किनकी थप्पड हान्नु नै अपराध हो तिमीले न्याय पाउँछौ भनेको सुनिनन्। उनी रोइन्, किनकी उनलाई उल्टै सोधियो के त्यो थप्पडले कानको जाली फुटेकै हो त?
उनी रोइन्, किनकी उनीले जे भोगेकी छिन्। जे सहेकी छिन्। उनलाई मात्र थाहा छ।
(तपाईं हामीबीच भएका सबै ‘उनी’हरुलाई घरेलु हिंसाविरुद्ध बोल्ने साहस मिलोस्। साहसी सबैलाई न्याय मिलोस्।)
-केकी अधिकारी
१३-०७-२०१९
(यो सामाग्री अभिनेत्री केकी अधिकारीको फेसबुक स्टाटसबाट साभार गरेका हौं।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।