प्रतीकात्मक तस्बिर
जनकपुर- धनुषाको सघारा र सिरहाको बसपिट्टा गाउँपालिकाको बीचमा कमला नदीमा निर्माणाधीन हुलाकी सडकको पुल बनाउन खटिएका इन्जिनियरसहित ९ जना बाढीमा फसेका छन्।
उनीहरूको साथमा रहेको मोबाइलबाटै आफन्त तथा जिल्लास्थित प्रहरीमा हारगुहार मागेका छन्।
बिहीबार साँझ हुलाकी सडक आयोजनाका इञ्जिनियर जामुन साहसहित ९ जनाको प्राविधिक टोली सरहा-धनुषाको सीमामा पर्ने बसपिट्टामा बाढीले घेरिएका छन्।
जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख एसपी उमाप्रसाद चर्तुवेदीका अनुसार कमला खोलाको पानीले चारैतिरबाट घेरिएका उनीहरुलाई उद्धार गर्न हेलिकोप्टर ल्याउने प्रयास भइरहेको छ। आफूसहित, २ चौकीदार, स्काभेटर चालक समेत बाढीको भंगालोमा फँसेको सुपरभाइजर इन्द्र पटेलले जानकारी दिए।
'नदीमा बीचमै रहेको टापुमा हामी फँसेका छौं, तीव्र गतिमा टापुको कटान भइरहेको छ,' सुपरभाइजर पटेलले भने, 'बाढीले हामीलाई कुनै पनि बेला बगाउन सक्छ।'
नदीमा पानीको बहाव उच्च रहेकाले डुंगाबाट उनीहरुको उद्धार सम्भव नभएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले बताए। 'नेपाली सेना, सशस्त्र प्रहरी र गोताखोरले उनीहरुको ज्यान जोगाउन लगातार पहल गरिरहेको छ,' प्रजिअ कँणेलले भने, 'मौसम खराबी भएकाले काठमाडौंबाट हेलिकप्टर उड्न सकेको छैन।'
कमला खोलामा फसेका इञ्जिनियरसहितको ९ जनाको टोलीलाई हेलिलिफ्ट गर्न नेपाली सेनाको इटहरी पृतनाबाट शनिबार हेलिकोप्टर उडेपनि खराब मौसमका कारण बिचबाटै फर्किएको छ। सो क्षेत्रमा अहिले पनि वर्षा भइरहेकोले कमला खोलामा पानीको जलस्तर बढिरहेको छ।
‘इटहरी, हेटौंडा र काठमाडौंमा हेलिकप्टर तम्तयार छ। तर, निरन्तर भारी वर्षा भइरहेकाले उडाउन सकिएको छैन,’ सिडिओ कँणेलले भने, ‘शुक्रबारदेखि नै बाढीमा उनीहरु फसेका रहेछन्, शनिबार मात्रै खबर आयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।