काठमाडौं- शुक्रबारदेखि आएको अविरल वर्षासँगैको बाढीका कारण डुबानमा परेको रौतहट सदरमुकाम गौरमा पानी सहत कम हुँदै गएको गृह मन्त्रालयले जानकारी दिएको छ। शनिबार सिंहदरबारमा बसेको केन्द्रीय विपद् व्यवस्थापन कार्यसमितिको बैठक गृहसचिव प्रेमकुमार राईले भारततर्फको बाँध खोलिएका कारण रौतहटको गौरमा पानीको सतह कम हुँदै गएको बताएका हुन्।
'परराष्ट्र मन्त्रालयबाट कुटनीतिक पहल गरेपछि अहिले भारतीय सिमानाकाको बाँधका ढोका खोलिएकाले रौतहटको गौरमा पानीको सहत कम हुँदै गएको छ,' बैठकमा उनले भने।
सोही बैठकले बाढीपहिरोमा परेका प्रभावितका लागि स्थानीय सरकारमार्फत् नै राहत वितरण गर्ने निर्णय सरकारले गरेको छ। गृहमन्त्री राम बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले जिल्ला विपद् व्यवस्थापन समितिलाई परिचालन गरी प्रदेश सरकारसँगको समन्वयनमा स्थानीय सरकारबाट राहत वितरण व्यवस्थित र प्रभावकारी बनाउन निर्णय गरेको हो।
यसका लागि संघको सहयोग र प्रदेश सरकारको समन्वय रहने गरी स्थानीय सरकारबाटै राहत वितरण गर्ने व्यवस्था मिलाउदै तत्काल उपलब्ध ड्राईफुडस् वितरण गर्न निर्देशन जारी गरेको गृहसचिव प्रेम कुमार राईले जानकारी दिएका छन्।
सरकारले वर्षा नरोकिए अझै ठुलो क्षति पुग्न सक्ने तर्फ आवश्यक सजगता अपनाउन पनि सम्बन्धित निकायलाई सचेत गराएको छ। बाढी र पहिरोका कारण सबैभन्दा बढी क्षतिग्रस्त प्रदेश १ र २ मा उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिएको गृहसचिव राईले जानकारी दिए।
जनकपुरमा डुबानमा परेकालाई उद्धार गर्न गएको हेलिकोप्टर भने मौसम प्रतिकूल भएका कारण इटहरीतर्फ नै फर्किएको उनले बताए।
वर्षासंगै कमला नदीको तटबन्धमा ढोका नलगाएका कारण खोला छिर्दा सिरहामा डुबान भएको, रौतहटको गौरमा भने भारततर्फ बाँधिएको बाँधको ढोका नखोलिएकाले र बागमतिको बाँधलाई नाघेर पानीको सतह माथि आएकाले सर्लाहीमा डुबान भएको निष्कर्ष मन्त्रालयले निकालेको छ।
वर्षा संगैको बाढी पहिरोका कारण अहिलेसम्म २८ जनाको मृत्यु भईसकेको छ। बाढीको चपेटामा परी ४ सय ३५ परिवारका १ हजार ५ सय जना विस्थापित भएको मन्त्रालयले जनाएको छ।
बाढीले पूर्वपश्चिम राजमार्गको महोत्तरीको पुल बगाउँदा त्यस क्षेत्रको यातायात पूर्ण रुपमा प्रभावित भएको छ।
त्यसैगरी ओखलढुङ्गा, खोटाङ्ग, भोजपुर, तेह्थुम, म्याग्दी, बेनी , जोमसोङ्ग, मनाङ्ग लगायतका ठाउँमा बाटो अवरुद्ध भएको छ। रौतहटका कतिपय स्थानमा एक गाउँदेखि अर्को गाउँसम्मको सम्पर्क विच्छेद भएको छ।
विपद् व्यवस्थापन कार्यसमितिको बैठकमा मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु, विपद् व्यवस्थापनमा काम गर्दे आएका सामाजिक संघ संस्था र रेडक्रसका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।