काठमाडौं- बिहीबारदेखि सुरु भएको अविरल वर्षाका कारण हालसम्म १७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। वर्षापछिको बाढी, पहिरो तथा डुबानका कारण ८ जना घाइते भएका छन् भने ५ जना बेपत्ता भएका छन्।
काठमाडौंको मुलपानीमा ढिस्को खसेर घर भत्कँदा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३५ वर्षीया शर्मिला यादव उनका १० वर्षीय छोरा कुन्दन र मितु यादव छन्। बारा घर भएका उनीहरु मुलपानी बस्दै आएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले बताए।
गृह मन्त्रालयका अनुसार खोटाङमा एकै परिवारका ३ जनाको मृत्यु हुनाका साथै १ जना घाइते भएका छन्। मृत्यु हुनेमा खोटाङ गाउँपालिका-२ का रेखा राई, रोमन राई र रोहन राई छन्। घरमै रहेका बेला पहिरोले पुरिएका बेपत्ता उनीहरुको शव फेला परेको हो। सोही पहिरोमा परेका ३० वर्षीय विष्णुकुमार राई घाइते भएका र उनको उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ।
यस्तै काभ्रेमा हजुरआमा र नातिनीको मृत्यु भएको छ। काभ्रेको बनेपास्थित नालामा पहिरोले घर भत्काउँदा एकै परिवारका दुईको मृत्यु भएको हो। मृत्यु हुनेमा ५० वर्षकी गोमा दंगाल र ७ वर्षीया सोहनी दंगाल छन्। घटनामा ३० वर्षीय सुशीला दंगाल र तीन महिनाकी बालिका अनुष्का दंगाल भने घाइते भएका काभ्रेका एसपी जयराम सापकोटाले बताए।
भोजपुरमा पनि २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रामप्रसाद राई गाउँपालिका-७ का ६६ वर्षीय जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका-९, लेखर्कका १४ वर्षीय जनक बिक छन्। राईको पानीको भेल घरभित्र पस्दा पर्खाल भत्किँदा च्यापिएर, बिकको शौच गर्ने क्रममा पहिरोले पुरिएर मृत्यु भएको हो।
यता ललितपुरको बागमती गाउँपालिका-२, बगुवाका ११ वर्षीय सुरज जिम्बा पहिरोमै पुरिएर मृत्यु भएको छ। सोही गाउँपालिकाको वडा नम्बर ३ मा गुडिरहेको बा४ख ८६४ नम्बरको गाडीमा ढुंगा खस्दा ३५ वर्षीय दीपक घले घाइते भएका छन्।
मकवानपुर, सिन्धुली, पर्सा, ओखलढुंगा र धादिङमा पनि एक/एक जनाको मृत्यु भएको छ।
उता, जनकपुर-महोत्तरीको रातो खोलामा आएको बाढीले आज बिहान एक वृद्धलाई बगाएको छ। बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातो खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीलाई उद्धृत गर्दै नेपाल लाइभ सहकर्मी अजय शाहले जानकारी दिएका छन्।
मोरङ, सुनसरी, इलाम र पाँचथरमा पनि एक/एक जना बेपत्ता भएका गृह मन्त्रालयले जनाएको छ।
कुन-कुन क्षेत्र जोखिमपूर्ण?
यसैबीच, लगातारको वर्षाका कारण देशभरका विभिन्न नदीहरुमा पानीले खतराको तह पार गरिसकेको छ। उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान शाखाले नदी किनारका वस्ती तथा होचो भू-भागमा बस्नेहरुलाई सावधानी अपनाउन आग्रह गरेको छ।
शाखाले शक्रबार राति काठमाडौं उपत्यका, बागमती, कमला, प्रदेश २ र ३ का चुरे क्षेत्रमा उच्च जोखिम रहेको जनाएको छ। कोशी, कन्काई, प्रदेश १, ५ र ७ का चुरे र तराइ क्षेत्रमा मध्यमस्तरको जोखिम रहेको तथा समग्र पहाडी क्षेत्रमा पहिरो जोखिम रहेको स्पष्ट पारेको छ।
शाखाका अनुसार पश्चिमतर्फ वर्षा कम हुँदै गएकोले पश्चिम राप्ती, बबई, कर्णाली तथा महाकाली नदी आसपासका क्षेत्रमा भने जोखिम नभएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।