काठमाडौँ- नेपाल र चीनबीचको सीमा व्यवस्थापन र समन्वयलाई सुदृढ बनाउने उद्देश्यसहित द्विपक्षीय सीमा बैठक सिन्धुपाल्चोकमा सम्पन्न भएको छ ।
बैठकमा सीमा क्षेत्रमा देखिन सक्ने समसामयिक चुनौती र आपसी सहकार्यका विषयमा केन्द्रित छलफल गरिएको छ ।
छलफलका क्रममा सीमा सुरक्षाको अवस्था, आगामी निर्वाचनलाई ध्यानमा राखी सुरक्षा संयन्त्रको तयारी, सीमा क्षेत्रको शान्ति र स्थायित्व, साथै व्यापार, पर्यटन प्रवर्द्धन र विपद् व्यवस्थापनका विषय समेटिएका थिए । सीमा सुरक्षालाई प्रभावकारी बनाउन संयुक्त गस्ती सञ्चालन र आवश्यक सूचनाको नियमित आदान-प्रदान गर्ने विषयमा सहमति खोजिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
त्यसैगरी सीमा स्तम्भको संरक्षण, तस्करी नियन्त्रण, अवैध आवतजावत तथा गैरकानुनी गतिविधि रोक्न दुवै पक्षले समन्वयात्मक रूपमा काम गर्ने विषयमा समेत छलफल भएको सुरक्षा निकायका प्रतिनिधिहरूले बताएका छन् ।
चीनको स्वशासित क्षेत्र सिजाङ अन्तर्गतको जाङ्मुमा सम्पन्न उक्त बैठकमा नेपालतर्फबाट प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसहित अनुसन्धान, सशस्त्र प्रहरी र अध्यागमन कार्यालयका अधिकारीहरूको सहभागिता रहेको थियो । चिनियाँ पक्षबाट जाङ्मु क्षेत्रका प्रहरी तथा अध्यागमन निकायका वरिष्ठ अधिकारीहरू बैठकमा उपस्थित थिए ।
बैठकलाई सीमा क्षेत्रमा आपसी विश्वास अभिवृद्धि गर्ने र नियमित सहकार्यलाई थप व्यवस्थित बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।