काठमाडौं- देशकै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको पूर्वतर्फको पर्खाल भत्किएको छ। पछिल्लो ३ दिनदेखिको लगातार वर्षात्का कारण सिंहदरबारको पूर्वतर्फको करिब २५ मिटरभन्दा बढी पर्खाल भत्किएको सिंहदरबार प्रहरी वृतका डिएसपी कौशल बुढाथोकीले बताए।
अन्य स्थानमा भन्दा केही कमजोर र पुरानो संरचना रहेको सो भागको पर्खाल दिउँसो करिब १ः३० बजेको समयमा भत्किएको हो।
पर्खाल भत्किँदा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। पर्खाल भत्किँदा केही समय सवारी आवागमन रोकिए पनि हाल भने एकतर्फी रुपमा सडक सुचारु गरिएको छ।
वर्षा तथा सिंहदरबार हाताभित्र माटो थुपारिएकोले सोको चाप पर्न गई पर्खाल भत्किएको हुनसक्ने स्थानीयले बताएका छन्।
अहिले सो क्षेत्रमा २ वटा एक्साभेटर र सुरक्षाकर्मीले भत्किएको संरचना पन्छाउने काम गरिरहेका छन्।
भत्किएका संरचना हटाउने कार्य चलिरहेकोले पर्खाल भत्किएको स्थानको फुटपाथमा हिँड्न भने रोक लगाइएको छ। एकतर्फी सवारी सञ्चालनमा आएकोले सो क्षेत्रमा सवारी चाप बढेको छ।
नेपाल सरकारको भवन निर्माण आचारसंहिताका अनुसार ४ फिटभन्दा बढी अग्लो पर्खाल बनाउन पाइँदैन। सो क्षेत्रको पर्खाल भने करिब ८ फिटभन्दा अग्लो छ।
केही तस्बिरहरुः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।